Logo

सीमा नाकामा कडाइः चोर बाटोबाट नुन, तेल किन्न पनि भारततिरै



काठमाडौं, माघ ३ । कोरोना संक्रमण बढ्दै गएर सरकारले सीमा नाकामा कडाइ गर्न थालेपछि भारतीय क्षेत्र हुँदै आउने नेपालीहरू चोर बाटो हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्न थालेको छ ।

सीमा नाकाबाट आउँदा कोरोना संक्रमण भए नभएको चेक जाँच हुने र संक्रमण पुष्टि भए वा लक्षण देखिए होल्डिङ सेन्टरमा बस्नुपaर्ने भएपछि भारतीय क्षेत्र हुँदै आउने नेपालीहरू चोर बाटो हुँदै आउने क्रम बढ्न थालेको हो ।

यस्तै, सुरक्षाकर्मीका आँखा छली खेत, कान्ला र आली तथा खोल्सी हुँदै भारतीय बजार पुगी फर्कनेहरूलेसमेत कोरोना संक्रमण फैलाउन सक्ने जोखिम बढेको छ ।

सरकारले हाल भारततर्फबाट १३ सीमा नाकालाई खुला राखेको छ । तर ती नाकाबाहेक बन्द रहेका नाकाहरूमा पर्ने खेत आली, जंगल र खोला तर्दै आउजाउ गर्नेहरू बढ्दै गएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले खुला नाका हुँदै आउने नागरिकहरूलाई चेक जाँच गर्ने गरिएकाले केही व्यक्ति बन्द रहेका क्षेत्रमा पर्ने खेत तथा आली हुँदै प्रवेश गर्ने गरेको पाइएको बताए ।

‘तोकिएका नाकाबाट आउनेलाई हामीले स्वास्थ्य जाँच गरेर घर पठाउने गरेका छौं तर चोर बाटोबाट पनि आउजाउ भइरहेका गुनासा बढेका छन् । हामीले निगरानी बढाउन सुरक्षा निकायलाई भनेका छौं,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल घरायसी सामान किनमेलका लागि भारततर्फ जानेआउने क्रम बढेपछि त्यसतर्फ रोक लगाउन भनिएको बताउँछन् ।

‘एक किलो दाल, नुन, तेल किन्न पनि भारततर्फ जानेहरू र अनावश्यक रूपमा आउजाउ गर्नेहरूबाट समस्या भइरहेको छ, त्यस्तो आवतजावतलाई रोक्न भनेका छौं,’ झापाका प्रमुख जिल्ला अधिकारी रिजालले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मुख्य नाकाबाहेकबाट पनि आउजाउ हुन सक्ने भएकाले जिल्लाभित्रका साना नाकाहरूमा पनि स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क राख्न पालिका प्रमुखलाई आग्रह गरिएको बताउँछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्