Logo

संशोधन प्रस्ताव नआए पनि विधेयक समितिमा पठाइने



काठमाडौं, माघ ३ । सरकारले तथा सांसदले संसद्मा दर्ता गरेको विधेयक माथि संशोधन प्रस्तावविना नै समितिमा पठाउने नीति बनाउन लागिएको छ।

संसद सचिवालयले संसदमा दर्ता भएर रहेका विधेयकलाई अब संशोधन प्रस्ताव आए पनि नआए पनि दफाबार छलफलका लागि समितिमा पठाउने तयारी गरेको हो। अहिलेसम्मको अभ्यासमा संशोधन प्रस्ताव दर्ता भएका विधेयकलाई मात्र समितिमा पठाएर संशोधनसहित सदनमा पेश गरेर पारित गर्ने गरिएको थियो।

अन्तर व्यवस्थापिका संघ (आइपियु)को स्पेनमा हालै सम्पन्न १४३औं सम्मेलनमा भाग लिने क्रममा संसद्का महासचिवहरूको बैठकमा समेत यो विषयले प्रवेश पाएको छ। संसद्मा दर्ता भएको विधेयकमाथि संशोधन दर्ता भएमा मात्र समितिमा पठाउने विषयमा संसदीय व्यवस्था भएका सबै मुलुकमा बहसको विषय बनेको स्रोतले बतायो।

कतिपय देशले विधेयकमाथि संशोधन नआइकनै समितिमा पठाउने अभ्यास गरिसकेका छन्। नेपालले पनि यस विषयमा अब अभ्यास सुरु गर्नुपर्ने भन्दै संसद् सचिवालयले यस प्रक्रिया अघि बढाउन लागेको छ।

विधेयकमाथि जुन विषयमा संशोधन राखिएको छ, त्यही विषयमा मात्र संशोधन गर्ने अर्को नियम भने यहाँको संसद्मा यसअघि नै तोडिसकिएको छ। संशोधन प्रस्ताव दर्ता नभएका विषयमा पनि विधेयकलाई संशोधन गरेर यस अघि मौलिक हकसम्बन्धी विधेयकहरू, केही अन्य विधेयक पनि पारित भएका छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्