Logo

प्रदेश २ को प्रदेश सभा बैठक सुरु



काठमाडौँ, ३ माघ। प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल भैरहेको छ ।

दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल भएपछि नाम र राजधानी तोक्ने प्रक्रिया लम्बिएको थियो ।

हिजो बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेस गर्दै नामाकरण र स्थायी राजधानीमा दलीय सहमति हुन नसकेको बताए । साहले प्रतिवेदन पेस गरेपछि नामाकरण र राजधानीबारे छलफल सुरु भए पनि सांसदहरुले पुरानै अडान दोहोर्याएका छन् । प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश तथा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेका छन् ।

नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् भने कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराउनुभएको छ । यस्तै राजधानीका लागि जनकपुरधाम र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ ।

आआफ्नो अडान राख्दै आएका कुनै पनि दलसँग दुई तिहाइ छैन । कुल १ सय ४ सांसद रहेको प्रदेशमा जसपाको ३९, कांग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीको १३, माओवादीको ८, एमालेको ८ र नेपाल सङ्घीय समाजवादी पार्टीको १ जना सांसद छन् । राजधानी र नाम पारित गराउन दुई तिहाइ बहुमत चाहिन्छ ।



प्रतिक्रिया दिनुहोस्