Logo

देउवाले क-कस्लाई मन्त्री बनाउँदैछन् ?



काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको सय दिनको मूल्यांकन हेर्न थालेका छन् । कुन मन्त्रीले कति प्रभावकारी कार्य गरे भनेर देउवाले मूल्यांकन हेर्न थालेका हुन् ।

पछिल्लो पटक मन्त्री बनेकाहरुको मूल्यांकन र यसअघि बनेकाहरुको मूल्यांकन हेरेर देउवाले नयाँ निर्णय लिने भएका छन् । १२ माघमा राष्ट्रियसभा निर्वाचन सकिएलगत्तै देउवाले मन्त्रिमण्डलमा केही हेरफेर तथा नयाँ जिम्मेवारी समेत दिने भएका छन् ।

विशेषगरी रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नयाँ मन्त्री ल्याउने देउवाको तयारी छ । दुवै मन्त्रालय उनी आफैले सम्हालिरहेका छन् ।

विश्वस्त स्रोतका अनुसार देउवाले कम्तिमा एक मन्त्रालय पूर्वमहामन्त्री प्रकाशमान सिंहको सिफारिशमा बनाउने भएका छन् । उनले सुजाता कोइरालालाई पनि मन्त्री बनाउने आश्वासन दिएको बुझिएको छ ।

सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाता मन्त्री बन्नेमा ढुक्क भएको बुझिएको छ । सिंहले पनि उनैलाई साथ दिने बुझिएको छ ।
सभापतिमा कठिन घडीमा साथ दिएकाले देउवा सिंहप्रति निकै कृतज्ञ भएको बुझिएको छ । सिंहनिकट एकजना र सुजाता कोइरालालाई गरी मन्त्रीहरु बनाउने सम्भावना पनि रहेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार बालुवाटारले प्रकाशमान सिंह र सुजाता कोइराला दुवैसँग परामर्श गर्न थालेको छ । सिंहले शनिबार बालुवाटार पुगेर देउवासँग कुराकानी गरिसकेका छन् ।

देउवाले सिंहलाई नै सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् । उनले काँग्रेस महाधिवेशन अघि पनि यस्तो प्रयास गरेका थिए । तर, सिंह मानेनन् ।

यसपटक पनि सिंह सरकारमा जान तयार छैनन् । उनले आफ्नो टिमबाट कसैलाई मन्त्रीका लागि सिफारिश गर्ने बुझिएको छ ।

केन्द्रीय सदस्य सुजाता कोइरालाले उपप्रधानमन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको बुझिएको छ । तर, देउवा उपप्रधानमन्त्री कसैलाई पनि नबनाउने पक्षमा छन् । उनले मन्त्री पाउने निश्चितप्रायः भएको छ ।

सिंहको टिमले थप मन्त्रालय पाएमा कस्लाई पठाउनेबारे चाक्सीबारीमा छलफल चलिसकेको छ । राजन केसीको नाम आएको छ । विगतमा पनि केसीले अवसर पाएकाले अर्को अनुहार सरकारमा जान पाउने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्