Logo

मुक्तिनाथ हत्याको २० वर्ष, न्याय खोइ ?



काठमाडौं, ३ माघ । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरेको २० वर्ष बितेको छ । ३ माघ २०५८ मा मुक्तिनाथ चन्दा नदिएको आरोपमा झुण्ड्याइएका थिए ।

मुक्तिनाथ लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक हुँदै प्रधानाध्यापक भएका थिए । विज्ञानका शिक्षक मुक्तिनाथले माओवादी प्रभावित क्षेत्रमा संघर्षका साथ शिक्षण पेशालाई निरन्तरता दिएका थिए ।

माओवादी द्वन्द्वले गाउँबाट धेरै मानिस पलायन भए । तर, विज्ञान जस्तो महत्वपूर्ण विषयका शिक्षक मुक्तिनाथले विद्यार्थी र विद्यालयको माया मार्न सकेनन् ।

३ माघ २०५८ को दिउँसो १ बज्नै लाग्दा मुक्तिनाथ अधिकारी कक्षा १० मा विज्ञान पढाउँदै थिए । नेकपा माओवादीका कार्यकर्ता कक्षाको ढोका नजिक आएर काम छ भनी डाके । माओवादीको टोलीले उनलाई जर्बजस्ती लान खोजे । उनी जान तयार भएनन् । विद्यार्थीले अनुनय विनय गरे तर माओवादी कार्यकर्ताको मन पग्लेन ।

माओवादीले खुट्टा बाँधेर हिंड्न मात्र मिल्ने गरी लगेका थिए । उनलाई पेस्तोल तेर्साएर तसाईएको थियो । शिक्षकहरुले मुक्तिनाथलाई लगेको दृश्य हेर्न मात्र सके । जानेबेलामा पनि उनले विद्यालय र विद्यार्थीको चिन्ता गरेका थिए । राम्ररी विद्यालय चलाउन भनेका थिए ।

मुक्तिनाथलाई जर्बजस्ती डाँडाको टुप्पोमा लगे । आक्रमण गर्न थाले । मुक्तिनाथ चिच्याउन थाले । तर, हत्याको योजनासहित आएकाहरुले कन्चटमा गोली हाने । डाँडामा गोलीको आवाज सुनियो । मुक्तिनाथको हत्या भइसकेको थियो । हत्यापछि मुक्तिनाथलाई उत्तिसको बोटको फेदमा गलबन्दीले बाँधेर गए । हात पछाडि बानेका थिए ।

मुक्तिनाथ हत्याको मुख्य कारण चन्दा नै थियो । उनी निमित्त प्रधानाध्यापक हुँदा माओवादीले शिक्षकको २५ प्रतिशत दशैं पेश्की माग गरेका थिए । तर, अधिकारी असहमत भए । त्यसपछि उनी तारोमा परे ।

मुक्तिनाथको परिवारले विद्यालय छाड्न भनेका थिए । माओवादीको धम्कीले शिक्षकहरुले धमाधम विद्यालय छाड्न थालेका थिए । तर, मुक्तिनाथ मानेनन् । उनी विद्यालयलाई यति माया गर्थे कि कुनै दिन बिदा बस्न मान्दैनथिए ।

घरमा श्रीमती विरामी पर्दा पनि मुक्तिनाथ विद्यालय जान रोकिदैनथिए । उनको विद्यालयप्रति यति प्रेम थियो । तर, त्यही विद्यालयबाट उनलाई अपहरण गरी लगी हत्या गरियो ।

मुक्तिनाथको हत्या भएको २० वर्ष भयो । कर्तव्यनिष्ठ शिक्षकको हत्याको दोषीमाथि अझै कारबाही भएको छैन ।



प्रतिक्रिया दिनुहोस्