Logo

प्रदेश २ को नाम बहुमतले पारित, आज मधेस प्रदेशमा सार्वजनिक बिदा



जनकपुरधाम, माघ ४ । प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि पेश गरेको प्रस्ताव प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो ।

नामका लागि भएको मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । जसमध्ये ८० जना प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गरे । जबकी जसपाको ३९, लोसपा १६ माओवादी केन्द्र ८ गरी कुल ६३ मत हुन आउँछ ।

एक सदस्य रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन समेत मधेशकै पक्षमा थियो । कुल ६४ मत मात्रै मधेशको पक्षमा देखिएको थियो, जुन दुई तिहाई मतभन्दा ६ मत कम थियो । तर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीकै केही प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गरेपछि ८० मत खसेको हो ।

कांग्रेस, एमाले र नेकपा एसका प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गर्दै आफ्नै दलको प्रस्तावलाई निस्क्रिय बनाउन भूमिका खेलेका थिए । कांग्रेसले मिथिला भोजपुरा, एमाले र नेकपा एसले जानकी प्रस्ताव पेश गरेका थिए । यद्यपि मधेशकै पक्षमा दुई तिहाई मत आएपछि अन्य प्रस्तावहरु स्वतः खारेज भएका छन् ।

श्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशको पक्षमा अन्य दलका प्रदेशसभा सदस्यहरुसँग मतदान गर्न आग्रह गरेका कारणले मधेशको पक्षमा दुई तिहाई मत पुगेको हो । यता मधेस प्रदेश र राजधानी जनकपुर भएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्