Logo

अभिभावकविहीन बालबालिकाका अभिभावक बने वडाध्यक्ष सार्की



देउखुरी, ५ माघ । दाङकोे घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र शिक्षादिक्षाको जिम्मा आफुले लिने बताए ।

घोराही–१९ राम्चेका १३ वर्षीय दीपक कामी, ११ वर्षीया शर्मिला कामी, ६ वर्षीय अशोक कामी र ११ महिनाकी सोनिया कामीले बुबा–आमा गुमाएपछि टुहुरा बनेका छन् । उनीहरुका बुबा मोहनलालको २०७७ फागुन १० गते कोइलाखानीमा काम गर्दा पुरिएर मृत्यु भएको थियो । विसं २०७८ मङ्सिरमा आमा शान्तिको पनि लडेर मृत्यु भयो । त्यसपछि चारैजना अभिभावकबिहीन बनेका थिए । हाल दीपक कक्षा ४, शर्मिला २ र अशोक कक्षा १ मा अध्ययनरत छन् । बुबा–आमाको मृत्युपछि उनीहरू नियमित विद्यालय जान पाउँदैनन् ।

बालबालिकाको दैनिकी कष्टकर बनेको थाहा पाएपछि घोराही–४ का वडाध्यक्ष सार्कीले आफ्नै लगानीमा लालनपालन र शिक्षादिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन् । मङ्गलबार टुहुरा बालबालिकाको घरमै पुगी उहाँले अन्न र न्यायो कपडा वितरण गरे । बालबालिकाका काका भारतबाट फर्किएपछि घरको सल्लाहमा अभिभावकत्व लिने वडाध्यक्ष सार्कीले बताए ।

“बालबालिकाको भविष्य अँध्यारो नहोस् भनेर घरमै राखेर पढाउने सोच बनाएको छु”, उनले भने । चारै बालबालिकाको हाल सानीआमा चन्द्रकली विकले आफ्नै घरमा स्याहार गर्दै आएकी छिन् । तस्वीरः रञ्जिता अधिकारी÷रासस



प्रतिक्रिया दिनुहोस्