Logo

ललिता निवास जग्गा प्रकरण छासमिस पार्न कस्ले गर्यो चलखेल ?



काठमाडौं, ५ माघ । ललिता निवास जग्गा प्रकरणलाई उरालेर संलग्नहरुलाई चोख्याउने खेल भएको खुल्दै गएको छ । यो प्रकरणलाई उठाएर राजनीतिक एवं आर्थिक लाभहरु लिएको घटनाक्रमले खुलाउँदै लगेको छ ।

ललिता निवास प्रकरणलाई सरकारमा रहेकाहरुले ठूलै बार्गेनिङको विषय बनाएको बुझिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी लगाएर ठूलै हल्ला पिटाइएपनि सीआइबीले सरकारी वकिलेको कार्यालयमा दर्ता गरेको प्रतिवेदनका आधारमा मुद्दा अगाडि बढाइएन । यसमा पनि ठूलै चलखेल देखिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त रामकुमार सुवेदी र पत्नी माधवी सुवेदी छुट्नुमा ठूलै सेटिङ भएको छ । यो प्रकरणमा भूमाफिया सुवेदीले अदालतमा मुद्दा नपुग्नेसम्मको सेटिङ गरेको बुझिएको छ । यसका लागि ठूलै राजनीतिक शक्ति समेत लागेको छ ।

सुवेदीलगायतमाथि मुद्दा अगाडि बढेको भए उच्च राजनीतिक शक्ति समेत मुछिने थिए । तर, उनीहरु सुरु देखि नै ढुक्क थिए । विश्वस्त स्रोतका अनुसार यो प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु समेत मुछिने अवस्था बनेपछि चोख्याउनका लागि सीआइबीको हाउगुजी देखाइएको थियो । अब सीआइबीले यो प्रकरणलाई तत्काल अगाडि नबढाउने गरी बसेको छ । सीआइबीका निर्देशक डिआइजी धीरजप्रताप सिंह एआइजी बढुवा हुनेमा ढुक्क भएर बसेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन समेत बुझाएको थियो । तर, अनुसन्धान पर्याप्त नपुगेको भन्दै फर्काइएपछि हदम्याद गुजार्न खोजिएको आशंका भइसकेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा सीआइबीले रामकुमार र माधवीलाई मात्र समात्यो । जबकि २ सयभन्दा बढीमाथि अनुसन्धान गर्ने गरी पूर्जी समेत काटिएको थियो । तर, सुवेदी दम्पत्तिमात्र पक्राउ परे । माधवी सुवेदी मुटुको समस्या भएको भन्दै ग्रान्डीमा भनाई भइन् । रामकुमार सुवेदी मात्र सीआइबीको हिरासतमा रहे । ललितानिवासका अर्का मुख्य योजनाकार शोभाकान्त ढकाल भने डिल्लीबजार कारागारमा छन् । सीआइबीले निकै चर्चामा ल्याएर गरेको अनुसन्धान नै शंकाको घेरामा परेको छ । जबकि २०७६ मै निरज शाही सीआइबीको निर्देशक हुँदा ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान भएको थियो । तत्कालीन आइजीपी सर्वेन्द्र खनालले तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई जाहेरीसम्बन्धी पत्र नै बुझाएका थिए । जसमा ३ सयभन्दा बढी जग्गा प्रकरणमा संलग्न भएको उल्लेख थियो ।

यसपटक सीआइबीलाई पुनः सक्रिय गराई चार्तुयता अपनाइएको खुलिसकेको छ । ललिता निवास जग्गा प्रकरणमा संलग्न भनिएकाहरु कोही पनि पक्राउ नपर्नु र परेका मुख्य योजनाकार सुवेदी दम्पत्ति पनि छुट्नुले नयाँ रहस्य जन्माएको छ । विश्वस्त स्रोतका अनुसार रामकुमार सुवेदीले निकट व्यक्तिहरु परिचालन गरी ठूलै सेटिङ गरेका छन् । यही सेटिङका कारण उनीमाथि मुद्दा दायर नगरी रोकिएको छ । उनी अब जेल जानुनपर्ने भन्दै ढुक्क भएका छन् । रामकुमारले लुकाइएको सम्पत्ति व्यवस्थापन सुरु गरिसकेका छन् ।

सीआइबीलाई लगाएर राजनीतिक तहबाटै ललिता निवास प्रकरणमा संलग्नहरुलाई चोख्याउने खेल भएको खुल्दै गएको छ । विश्वस्त स्रोतका अनुसार यो प्रकरणलाई सामसुम पार्न खोजिएको छ । यो प्रकरणका योजनाकार देखि घूसवापत् जग्गा हात पार्नेहरुले पनि उन्मुक्ति पाउने अवस्था बनेको छ । शक्तिमा पुगेकाहरुले सिधै या आफन्तका नाममा जग्गा हात पारेको खुलिसकेको छ । उनीहरुकै जोडबलमा योजनावद्ध तरिकाले जग्गा काण्डमा संलग्नलाई उन्मुक्ति दिन खोजिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्