वर्षमा ९/१० पटक रुघाखोकी लाग्नुपनि मुटुरोगको लक्षण होः डा.भट्टराई


काठमाडौं, ५ माघ । पछिल्लो समयमा मानिसहरुको भागदौड र ब्यस्तताको कारण मुटुरोग मानव मृत्युको पहिलो कारण बनिरहेको छ। पुरुष–महिला दुवै जनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भएतापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्नसकिने वरिष्ठ मुटरोग विशेषज्ञ डा.अनिल भट्टराई बताउँछन् ।

रिपोर्टर्स क्लब नेपालको युट्युब च्यानलबाट प्रसारित भएको कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार सचिना बानियाँसँग कुरा गर्दै डा.भट्टराईले पछिल्लो समयमा मुटुरोगीको संख्या बढ्नुमा जीवनशैलीको परिवर्तन र मानिसहरुको लापरवाही मुख्य कारण भएको बताए । आफ्नै लापरवाहीको कारण मानिसहरुको आयु छोट्टिरहेको उनको भनाई थियो ।

भट्टराईका अनुसार मुटुरोगका कारण विश्वभर वर्षेनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढि विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् । मुटुरोग जन्मजातको आधारमा मात्र नभई सबै उमेर समुहलाई लाग्ने उनको भनाई छ । बच्चाहरुको हात खुट्टा निलो हुने, उमेरअनुसारको तौल बृद्धि नहुने, आमाको दुध खान नसक्ने, छिटो–छिटो रुघाखोकी लाग्ने जस्ता मुटुरोगका लक्षण देखिने डा.भट्टराईले बताए । उनले भने,‘वर्षमा ९/१० पटक रुघाखोकी लाग्ने पनि मुटुरोगको लक्षण हो ।’

वयस्क अवस्था दम फुल्ने, श्वाँ–श्वाँ हुने, छाती भारी हुने, उकालो हिँड्दाखेरि गाह्रो महसुस हुने, थकान महसुस हुने, आफ्नो मुटुको धड्कन थाहा हुने (सामान्यतया मानिसलाई आफ्नो धड्कन थाहा हुँदैन ) र अवस्था गम्भिर हुँदै जाँदा हात खुट्टा सुन्निने जस्ता मुटुरोगका लक्षण देखिने डा.भट्टराई बताउँछन् ।

यसबाहेक मुटुको ह्दयघात बनाउने ‘स्केमिक हार्टडिजेज’ को सुरुवातमा चाही छातिको देब्रे भाग, देब्रे हात, बायाँ च्यापुतिर दुख्ने, हिँड्दै गर्दा यी दुखाई बढ्दै जाने जस्ता लक्षण देखिने उनले बताए ।

गर्भावस्थामा आमाले पोषिलो आहारविहार सेवन नगरेमा पनि बालबालिका गर्भमै र गर्भपश्चात् पनि मुटु रोगी हुने उनको भनाई छ । भट्टराईले भिटामिन, मिनरल्स सागसब्जीको कमी, गर्भअवस्थामा कडा रोग लाग्नु र कडा खालका औषधी प्रयोग भएमा र ३५ वर्षभन्दा माथिका आमाहरुबाट जन्मिएका बालबच्चाहरुमा मुटुरोग लाग्ने सम्भावना बढि हुने बताए ।

मुटुलाई स्वस्थ राख्न नियमित पसिना आउनेगरि दिनमा आधा घण्टा व्यायाम गर्नुपर्ने बताए । उनले भने,‘नियमित पसिना आउनेगरि दिनमा आधा घन्टा व्यायाम गर्नुपर्ने, थाक्नेगरि व्यायाम गर्ने, श्वाँ स्वाँ हुनेगरी र मुटु ढुक्ढुक् हुनेगरि व्यायाम गर्नपर्छ ।’ योबाहेक तौल नियन्त्रण गर्नुपर्ने, कार्बोहाइड्रेट (भात, आलु गुलियो)बाट टाढा हुनुपर्ने र मुटुलाई स्वस्थ राख्न ताजा फलफुल खानुपर्ने, रातो मासु खान नखाने, कुखुरा र माछाको सेवन गर्ने र तारेको/भुटेको खानेकुरा खान नहुने उनको सुझाव छ ।

डा.भट्टराई चिकित्सा क्षेत्रको सम्पूर्ण अध्ययन विदेशमा गरेर नेपालमा सेवा दिने चिकित्सकमध्येमा पर्छन् । उनले नेपालको मुटुरोगसम्बन्धी उपचारमा योगदान दिन थालेको २ दशक भयो । हाल उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टर, शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छन् ।