Logo

भेरोसेल खोपको अभाव, पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका दिइने



काठमाडौँ, ६ माघ।  स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ । ४० लाख डोज खोप हराएको खबर सार्वजनिक भइरहेको बेला सरकारले चिनियाँ भेरोसेल खोप अभाव रहेको स्वीकार गरेको छ ।

भेरोसेल खोपको मौज्दात देशैभर कम भएको भन्दै विभागले पहिलो मात्रा लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन भनेको हो । विभागको परिवार कल्याण महाशाखाले परिपत्र गर्दै ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।

भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई मात्रै दोस्रो डोज लगाउन विभागले भनेको हो । सरकारले माघ २ गतेदेखि फ्रन्टलाइनरमा काम गर्नेलाई बुस्टर खोप लगाउने निर्णय गरे पनि खोप अभावक कारण भेरोसेल खोप लगाएका अधिकांश फ्रन्टलाइनरहरु पनि बुस्टर डोजबाट बञ्चित भएका छन् ।

विभागले कोभिसिल्ड र जोनसन एण्ड जोनसन खोपको मात्रा बढी रहेको भन्दै सोही खोप लगाउन जोड दिएको छ । पहिलो मात्रा लगाउन चाहनेहरुलाई पनि सोही खोप दिन भनिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्