Logo

भरतपुर महानगरपालिकाले लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा सञ्चालन गर्ने



चितवन, ६ माघ : युवा वर्गलाई स्वरोजगारसँगै सरकारी सेवामा प्रतिस्पर्धी बनाउन भरतपुर महानगरपालिकाले लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

प्राविधिक तालिम लिएर तत्काल रोजगार गर्न चाहने र सरकारी सेवामा प्रवेश गर्न चाहने दुवै वर्गका युवालाई निःशुल्क रुपमा कक्षा र तालिम दिन लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरभित्रका युवाहरुलाई आफूले इच्छा व्यक्त गरे अनुसार तयारी कक्षा र तालिम दिन लागिएको जानकारी दिईन् ।

महानगरपालिकाले १८ वर्ष उमेरदेखि ४० वर्ष सम्मका युवालाई मागका आधारमा सीपमूलक तालिम र लोक सेवा र शिक्षक सेवाको तयारीका लागिसमेत सहयोग गर्न लागिएको उनको भनाइ छ । महानगरले गत पुस २७ गते १५ दिनको सूचना जारी गरी इच्छा अनुसारको आवेदन आह्वान गरेको छ ।

उनले भनिन्,“आर्थिक अभावका कारण युवा तालिम र तयारी कक्षाबाट वञ्चित हुनुपर्दैन ।”आर्थिक अभावका कारण प्रतिश्पर्धामा कोही पनि पछि नपरुन भन्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको दाहालले बताईन् । उनका अनुसार आधारभूत सीपमूलक तालिम लिएपछि सोही अनुसारको काम गर्नका लागि महानगरले सहयोग गर्ने छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आवेदन प्राप्त भएपछि ईच्छा अनुसारको तालिम र तयारी कक्षा सुरु गरिने बताए । महानगरले तत्कालका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । रकम अपुग भएमा थप गरी कार्यक्रम प्रभावकारी बनाइने सुवेदीको भनाइ छ ।

तालिम र कक्षाका लागि विषय विज्ञ झिकाइने छ । नतिजा प्राप्त हुने गरी काम गरिने उनले बताए । निवेदन सङ्कलन हुँदै गर्दा महानगरपालिकाले व्यावसायिक सीपमूलक तालिमको लागि साझेदार संस्थासँग छलफल अघि बढाएको छ । उनले भने,“यहाँका युवाको चाहना अनुसार तयारी कक्षा वा सीपमूलक तालिम दिन्छौं ।” पालिकामा लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा गर्न लागिएको सम्भवत यो पहिलो हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्