Logo

‘तेलको मूल्य समायोजनपश्चात पनि निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड घाटा हुने’



काठमाडौँ, ६ माघ। पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि नेपाल आयल निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड घाटा रहने जनाएको छ । आज (बिहिबार) विज्ञप्तिमार्फत निगमले हालसम्मको बचत रकम सकिएको जनाउँदै अबको घाटा रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरेको छ ।

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा नोक्सानी छ । त्यस्तै डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा नोक्सानी छ । मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ९ रुपैयाँ ६२ पैसा नाफा तथा वाह्य हवाई इन्धनमा प्रतिलिटर २९ रुपैयाँ नाफा रहेको छ ।

निगमका अनुसार एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । यी सबै इन्धनको आगामी १५ दिनको खपत प्रक्षेपणअनुसार निगमले घाटा रकम अनुमान गरेको हो । भारतीय सीमावर्तीको तुलनामा नेपालतर्फ वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुैपैयाँ, डिजेल २८ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ सस्तो रहेको निगमको दावी छ ।

निगमले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । यो मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धनमा पनि मूल्य बढाइएकाे थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्