Logo

स्वास्थ्यसचिव पोखरेलको दाबी : २४ लाख खोप गायब भएको होईन, सदुपयोग भएको छ (भिडिओसहित)



काठमाडौं, ६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खोपमा कुनै धाँधली नभएको भन्दै सरकारसँग यसको तथ्यांक सुरक्षित रहेको स्पष्ट पारेका छन् । उनले अहिले कोरोनाको ठूलो महामारी नै भैसकेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले खोप विदेश नगएको बरु जनताले नै खोप लगाएको जिकिर गरे । उनले खोप कति खपत भएको हो ? भन्ने रेकर्ड रहेको भएपनि तल्लो स्तरबाट खोपको राम्रो रेकर्ड नआएकोले अहिले त्यसको लागि काम भैरहेको सुनाए ।

पत्रकार धमलाले २४ लाख खोप गायब भयो नि ? भनेर सोधेको प्रश्नमा उनले उक्त आरोप अस्विकार गरे । उनले भने-“खोप गायब भएको होईन, बरु सदुपयोग भएको छ । सुदपयोग गरेका साथीभाईहरु कतिपय रेकर्डमा हुनुहुन्न, हामीले आजपनि आह्वान गरेका छौं । खोप लगाउनुभएको छ, तर कार्ड लिनुभएको छैन् भने कार्ड लिईदिनुहोस ।”

पोखरेलले कोरोना संक्रमणबाट जोगिनको लागि सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनले निजी क्षेत्रले पनि अब पिसिआर परीक्षणको शुल्क घटाउने सुनाए । डा. पोखरेलले निजी अस्पतालले पनि अब पिसिआर परीक्षणको शुल्क १५ सयभन्दा बढि लिन नपाउने बताए । यदि उनीहरुले योभन्दा बढि शुल्क लिए कारबाही गरिने उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्