Logo

प्रचण्डले ६ महिनामै शक्तिसञ्चय गरेपछि चुनावमा जान हतार



काठमाडौं, ६ माघ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी दुई पटक चुनाव घोषणा गर्न लगाउँदा सबैभन्दा विरोधमा उत्रिएका थिए पुष्पकमल दाहाल प्रचण्ड । उनले आवधिक चुनावमै जोड दिएका थिए । तर, अहिले प्रचण्ड आफैले प्रतिनिधि सभाको चुनाव ७ महिना अगावै वैशाख २०७९ मा गर्ने प्रस्ताव ल्याएर राजनीतिक तरंग ल्याइदिएका छन् ।

आखिर प्रचण्ड किन चुनावका लागि तयार भएका छन् । चुनावमा सफलता हासिल गर्ने नदेखी उनी यसरी कदापि प्रस्तुत हुँदैनथिए ।
प्रचण्डले सत्ता गठबन्धन मिलेर चुनाव लड्नेबारे समेत छलफल बढाएको बुझिएको छ । प्रत्यक्षतर्फको १६५ सिटमा नेपाली काँग्रेस र गठबन्धनका बाँकी दलबीच गठबन्धन बनाएर चुनावमा जाने सम्भावना पनि छ । यसरी चुनावमा गएर नेकपा एमालेलाई नराम्रो धक्का दिने पूर्वअभ्यासहरु राष्ट्रियसभा निर्वाचनमा भइसकेको छ ।

पूर्वमाओवादीलाई एक बनाउने गरी प्रचण्डले ठूलै गृहकार्य गरे । उनले यसमा निकै सफलता हासिल गरेको बुझिएको छ । चुनाव अगाडि पूर्वमाओवादीको औपचारिक या अनौपचारिक एकतामा परिणाम नै आउने बुझिएको छ । चुनावमा पूर्वमाओवादीका रुपमा चिनिएका बाबुराम भट्टराई, उपेन्द्र यादव, नेत्रविक्रम चन्द विप्लवलगायतबीच एकताको सम्भावना पनि छ । यो शक्ति एक बनाएर नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनावमा जानेबारे समेत छलफल अगाडि बढेको छ ।

माओवादी र नेकपा एस मिलेर चुनावमा जाने सम्भावना छ । यसकारण पनि प्रचण्ड ढुक्क छन् । आगामी चुनावमा कम्तिमा पूर्वमाओवादी र नेकपा एसको समूह मिलेर चुनावमा जाने भएकाले प्रचण्ड उत्साही भएको बुझिएको छ ।

सत्ता र शक्तिमा रहेकाले प्रचण्डले यसको भरपूर अभ्यास गरिरहेका छन् । अर्थ, ऊर्जा, शिक्षा र भूमिसुधार जस्ता महत्वपूर्ण मन्त्रालय माओवादीको हातमा छ । अर्थ मन्त्रालय माओवादीको हातमा रहँदा प्रचण्डले सबैभन्दा फाइदा लिएको देखिदैछ । उद्योगी व्यवसायीमा प्रचण्डको विशेष प्रभाव बनेको छ । यसले पनि चुनावमा अर्थको कुनै समस्या नहुनेमा प्रचण्ड ढुक्क देखिएका छन् ।

सत्तामा ६ महिना रहँदा प्रचण्डले ठूलो शक्ति आर्जन गरिसकेका छन् । उनलाई चुनावमा सफलता हासिल गर्न सकिने जोस पनि बढेको बुझिएको छ । सत्तामा रहनु, रणनीतिक चार्तुयता देखाउनसक्नु, विभिन्न शक्तिसँग संगठित हुने माहोल तयार गर्नुले पनि प्रचण्ड चुनावका लागि हतार गर्न थालेका छन् । विगतमा चुनावमा जान तयार नभएका प्रचण्ड एक्कासी तयार हुनुमा परिस्थिति आफ्नो पक्षमा रहेको देख्नु पनि कारण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्