Logo

भौतिक पूर्वाधारमन्त्री रेणु यादवद्वारा ‘गौर नरसंहार’ दोहोराउने चेतावनी (भिडिओसहित)



काठमाडौं, ६ माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका नेता सीके राउतलाई लक्षित गर्दै ‘गौर नरसंहार’ दोहोराउने चेतावनी दिएकी छिन् । उनले २०६३ सालमा भएको गौर नरसंहारको उदाहरण दिदै राउतका कार्यकर्ताको हालत नरसंहारमा मारिएका माओवादी कार्यकर्ताको जस्तै बनाइदिने चेतावनी दिएकी हुन् ।

आज मधेशमा बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा बोल्दै यादवले भड्किलो अभिव्यक्ति दिने क्रममा सीके राउतलाई डाक्टर साब भन्दै चेतावनीको भाषामा भनिन्,‘इतिहासमा राइस मिल अझै जिवित छ । यो गौरमा चिर्पट देखाउने प्रयास नगर । तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जो गौरको राइस मिलमा भएको थियो ।’ उनले राउतलाई रिसर्चमा लाग्न भनिन् ।

पछिल्लो समय मधेशमा सीके राउतको प्रभाव बढ्दै गएको छ । उनले किसान आन्दोलन उठाएपछि जनता समाजवादी पार्टीका नेताहरु आत्तिएका छन् ।

७ चैत्र २०६३ मा गौर नगरपालिकाको राइस मिलमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले एकसाथ कार्यक्रम गर्न लाग्दा भएको झडपमा हिंसा मच्चिएको थियो । फोरमका कार्यकर्ताले २७ जना माओवादीका वाइसिएल कार्यकर्ताको हत्या गरेका थिए । गौर नरसंहारका रुपमा चर्चित यो घटनामा हालका जसपा अध्यक्ष उपेन्द्र यादव मुछिएका छन् ।

बबन सिंह देखि उपेन्द्र यादवसम्म गरी ११३ जनाको नाममा न्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । तर, यसमा अझैसम्म कसैले सजाय पाएका छैनन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्