Logo

प्रचण्डको चुनावी तुरुपः एमसीसी छल्ने देखि एमालेमा पहिरो ल्याएर बाजी मार्ने



काठमाडौं, ६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको निर्वाचनको प्रस्ताव गरेर राजनीतिक तरंग ल्याइदिएका छन् । आवधिक चुनावमा जोड दिने प्रचण्डले वैशाखमा चुनावको प्रस्ताव गर्नुलाई धेरैले महत्वका साथ हेरेका छन् ।

प्रचण्डले चुनावको प्रस्ताव गरेर पछिल्लो समय उठिरहेका विभिन्न मुद्दाहरुलाई नै ओझेलमा पार्न खोजेको देखिदैछ । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी एमसीसी संसदमा निर्णयका लागि अगाडि बढ्ने चर्चा थियो । चुनाव वैशाखमा गर्ने उनको प्रस्तावले एमसीसी छल्ने रणनीति बनाउन खोज्दैछ ।

प्रचण्ड एमसीसीको विपक्षमा छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा पक्षमा छन् । एमसीसीको मुद्दाले सत्ता गठबन्धन टुट्न सक्छ । वैशाखमा चुनाव गर्ने गरी बढ्दा एमसीसी पनि रोकिने र गठबन्धन पनि नटुट्ने अवस्था बन्न सक्छ ।

वैशाखमा चुनाव गर्दा पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी गठबन्धन बन्ने सम्भावना पनि बन्नसक्छ । नबनेपनि पूर्वमाओवादी र माधवकुमार नेपालसमेतलाई मिलाएर सफलता हासिल गर्न सकिने प्रचण्डको बुझाई देखिन्छ । उनले त्यसको भित्री तयारी पूरा गरिसकेका छन् । प्रचण्ड र माधव नेपाल गठबन्धन बनाएरै चुनावमा जाने निश्चितप्रायः छ ।

स्थानीय निकायको जनप्रतिनिधिको कार्यकाल ५ जेठमा सकिन्छ । कार्यकाल सकिन लागेका जनप्रतिनिधिलाई कर्मचारीले पनि टेर्न छाड्छन् । जनप्रतिनिधिमा बढी एमालेका छन् । त्यतिबेलासम्म स्थानीय तहमा एमालेको प्रभाव कम भइसक्ने आँकलन प्रचण्डले गरेको देखिन्छ । जसका कारण चुनावी लाभ लिन सक्ने दाउमा प्रचण्ड छन् ।

एमालेभित्र असन्तुष्ट भीम रावललगायतका नेताहरुलाई पनि साथमा लिन सकिने गरी प्रचण्डको तयारी देखिन्छ । एमसीसी विरोधी भएकाले रावल पनि प्रचण्डको नजिक जाने सम्भावना उत्तिकै छ । एमालेमा पहिरो ल्याएर प्रचण्डले अभूतपूर्व लाभ लिन खोजिरहेका छन् । वैशाखमा चुनावमा जान सके ओलीविरुद्ध मुख फोर्न नसकेका असन्तुष्टहरु प्रचण्ड र माधव नेपालको गठबन्धनमा पुग्न सक्छन् । प्रचण्डले यसकारण पनि चुनावको तुरुप फालेका छन् ।



प्रतिक्रिया दिनुहोस्