Logo

देउवा, प्रचण्ड र नेपालबीच चुनावबारे के के कुरा भयो ?



काठमाडौं, ६ माघ । चुनावको विषयमा केन्द्रित रही सत्तारुढ गठबन्धनका तीनजना शिर्ष नेताले घनीभूत छलफल गरेका छन् । उनीहरुले चुनावको मिति घोषणा देखि पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा पनि गरेका छन् ।

बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गम्भीर छलफल गरेका हुन् । छलफलमा प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गर्नेबारे मुख्य कुराकानी भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपालले पहिले प्रतिनिधि सभाको चुनाव गर्नुपर्नेमा जोड दिए । प्रचण्डले संसदको गतिरोध अन्त हुने अवस्था नभएकाले चुनावमा जानु ठिक रहेको प्रस्ताव गरेका थिए । माधव नेपालले पनि चुनावमा जाँदा नै गठबन्धनलाई लाभ पुग्नसक्ने औल्याएका थिए ।

पहिले प्रतिनिधि सभाको चुनाव गरेपछि स्थानीय चुनाव गर्नेबारे विभिन्न कोणबाट छलफल भएको बुझिएको छ । देउवाले भने पहिले कुन चुनाव गर्ने वा एकसाथ गर्नेबारे समेत कुराकानी गरेको स्रोतले बतायो । स्थानीय चुनाव पछि सार्दा आउने संवैधानिक प्रश्नबारे पनि छलफल भएको थियो ।

गठबन्धनको बैठक निरन्तर गर्दै निष्कर्षमा पुग्ने सहमति तीन नेताले गरेका छन् । उनीहरुले आउँदो चुनावसम्म मिलेर जाने सहमति समेत बनाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot