Logo

नेपालका लागि नेपाली दलद्धारा परिवर्तनका लागि नागरिक आन्दोलन कार्यक्रम घोषणा, यस्ता छन् उद्देश्य (भिडिओसहित)



काठमाडौं, ७ माघ । नेपालका लागि नेपाली दलले निर्वाचन प्रणालीमा आमुल परिमार्जन, नागरिकतन्त्रसहितको राजसंस्था, धर्मनिरपेक्षता र संघीयताको खारेजी, र नागरिक सरकारको स्थापनासहितका विभिन्न मागसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त दलले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको संयोजकत्वमा फागुन १७ गतेबाट सुरु हुनेगरि ‘परिवर्तनका लागि नागरिक आन्दोलन’ नामक कार्यक्रमको घोषणा गरेको हो ।

पार्टीले देशभरि नै आन्दोलन परिचालन समिति गठन गरेको छ । आन्दोलनको संयोजनको जिम्मेवारी डा. भण्डारीले गर्ने जानकारी दिइएको छ । यस्तै, प्रदेश १ मा श्रीनिवाश आर्चाय गुरु, मधेश प्रदेशमा सन्तोष पटेल, बागमती प्रदेशमा इ.राम बाले, गण्डकी प्रदेशमा दिपक आत्रेय गुरु, लुम्बिनी प्रदेशमा गोपाल शर्मा, कर्णाली प्रदेशमा हेमविक्रम थापा र सुदुरपश्चिम प्रदेशमा कृष्णप्रसाद भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

साथै, आन्दोलनको संयोजन गर्न भारतका लागि रामप्रसाद शर्मा तथा कलाकारिता क्षेत्रमा बरिष्ठ हाँस्यकलाकार सन्तोष पन्तलाई संयोजकको जिम्मेवारी दिइएको छ भने सहसंयोजकको रुपमा राजाराम पौडेल रहने बताईएको छ । त्यस्तै, युवा संयोजकको रुपमा योगेन्द्र श्रेष्ठ र आन्दोलनको सचिवमा डा.किरण कुमार कटुवाललाई जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालको इतिहास हेर्दा हरेक दश वर्षको अन्तरालमा ठूलो परिवर्तन भएको स्मरण गराउदै अर्को परिवर्तको लागि ‘परिवर्तनका लागि नागरिक आन्दोलन’को आवश्यकत्ता रहेको औंल्याए ।

नेपालमा दिनप्रतिदिन नागरिकको जीवनस्तर घट्दै गएको तर, भ्रष्टाचार भने दैनिक रुपमा बढिरहेका भन्दै उनले यो रोगलाई निर्मूल पार्न औषधी खुवाएर सम्भव नरहेको हुँदा शल्यक्रिया नै गर्नुपर्ने अवस्था आएको सुनाए ।

‘जनतालाई सुख भएको भए हामीले आन्दोलनको दुःख गर्नुपर्ने थिएन् । आन्दोलनबाहेकको विकल्प नरहेको अवस्था देखिएपछि हामीले फागुन १७ गते शिवरात्रीको दिनदेखि आन्दोलनको घोषणा गरेका छौं’–उनले भने ।

उनले पछिल्लो समय नेपालमा भएका राजनीतिक सम्मेलनहरुमा कुनैपनि विदेशी राजदुत उपस्थित् नहुनु र विदेशी नेताहरुको भ्रमण समेत नभएको कुराले विदेशीहरुले पनि नेपालका राजनीतिक दललाई समर्थन गर्न छाडेको दाबी गरेका थिए ।

यस्तै, उनले नेपालमा अहिले विद्यमान दलहरुले मुलुकको समस्याको समाधान गर्नसक्ने अवस्था नरहेको भन्दै यस्ता पार्टीहरुलाई दिएको समर्थन फिर्ता गर्न विदेशी राष्ट्रहरुलाई आग्रहसमेत गरे ।

उनले भने,‘अहिले भएका पार्टी र अहिलेको संरचनाले मुलुकको समस्याको समधान गर्दैन् । सबै कुरा परीवर्तन गर्नुपर्ने देखिन्छ । त्यसैले हामी यसमा सबै राष्ट्रहरुसँग कुरा गर्नेछौं र उहाँहरुलाई भन्नेछौं, हिजो यो व्यवस्थाको लागि समर्थन गर्नुभयो । तर, अब देश नै नरहने अवस्था रह्यो । त्यसैले अब समर्थन फिर्ता लिनुहोस भन्ने छौं’ ।

साथै, उनले आफुहरुलाई पनि जुन जोगी आएपनि कानै चिरेका भन्ने आरोप लागेको भन्दै आफुहरु कान चिरेका जोगी नभएको स्पष्ट पारेका थिए । नेपाली काँग्रेस अहिले बामपन्थी काँग्रेस भएको आरोप लगाउदै अब आफुहरु बिपीको सिद्धान्तमा अडिक रहने उनको भनाई थियो । उनले यो देशका लागि अन्तिम विकल्पको रुपमा आन्दोलन घोषणा गरेको प्रष्ट पार्दै सबैलाई आफ्नो ठाउँबाट साथ र सहयोग गर्न आग्रह गरेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष प्रा.डा.कान्ता पौडेलले ‘परिवर्तनका लागि नागरिक आन्दोलन’लाई सबै क्षेत्रबाट सहयोग पाउने अपेक्षा रहेको बताइन् । साथै, उनले चुच्चे नक्शा भएको २ रुपैँयाको सिक्का बोकेर ठूलो कुरा गर्ने सरकार चाहिएको हो ? अथवा मोदीको दादागीरीको विरुद्ध बोल्ने सरकार चाहिएको ? भन्दै प्रश्न गरेकी थिइन् ।

नेपाली जनताले सरकारबाट जिम्मेवारिपन, राष्ट्रपतिबाट अभिभावकत्व अनि प्रतिपक्षीबाट खबरदारी खोजेको भएपनि अहिलेसम्म त्यसो हुन नसकेकोमा दुःख व्यक्त गरेकि थिइन् ।

यस्तै, उनले ६ महिनामा सरकार रहेको आम नेपाली जनताले अनुभव गर्न नपाएको बताइन् । कार्यक्रममा उनले एक दन्तेकथा सुनाउदै दन्तेकथामा समेत छट्टु स्याललाई धपाउन सफल भएको उल्लेख गर्दै अब आम नेपाली जनतापनि नेपालको राजनीतिमा रहेको छट्टु स्यालहरुलाई धपाउन लाग्नुपर्नेमा जोड दिएकी थिईन् ।

‘परिवर्तनका लागि नागरिक आन्दोलन’का संयोजक तथा वरिष्ठ अधिबक्ता डा. सुरेन्द्र भण्डारीले मुलुकको परिवर्तनको निम्ति आन्दोलनको विकल्प नरहेको बताए । साथै, उनले नेपालमा शान्तिपुर्ण र अहिंसात्मक क्रान्तिको आवश्यकत्ता रहेको भन्दै नेपालका लागि नेपाली दलको आन्दोलनमा साथ दिन सबैमा आग्रह गरेका छन् ।

‘पैसाको खोला बगाएरमात्र चुनाव जित्न सकिने यस्तो संरचनामा एक सिट जितेर केही पनि हुँदैन् । भ्रष्टचारको अन्त्य नभएसम्म सत्तामा जोसुकै भएपनि मुलुकको उन्नति हुन सक्दैन्’–उनले भने ।

यस्तै, उनले पञ्चायतकालदेखि आजसम्म सार्वजनिक पद धारण गरेका सम्पूर्ण उच्च पदस्थहरुको सम्पतिको नागरिक आयोगको गठन गरेर आफुहरुले छानबिन गर्ने पनि घोषणा गरे । ‘त्यसबाट जफत भएको सम्पत्ति युवा रोजगारी, निःशुल्क र सर्वशुलभ शिक्षा र स्वास्थ्य, गरिबी नियन्त्रण, मिहिला सशस्त्रीकरण र सुकुम्बासी समस्यामा लगाउने काम हामीले गर्नेछौं’–उनले भने ।

साथै, आन्दोलनका माग सुनाउदै उनले भने,‘हामीले निर्वाचन प्रणालीमा आमुल परिमार्जन, नागरिकतन्त्रसहितको राजसंस्था, धर्मनिरपेक्षताको अन्त्य, संघीताको खारेजी, नागरिक सरकार स्थापना र समृद्ध नागरिक खोजेका हौं ।” तर, यसो भन्दैमा आफुहरु राजावादी नभएको भन्दै राजालाई राजनीतिक अधिकार दिएर द्वन्द्ध निम्त्याउने पक्षमा नरहेको पनि भण्डारीले स्पष्ट पारेका थिए ।

उनले थपे–“म अन्य साथीहरुलाई के भन्न चाहन्छु भने शक्तिशाली राजाको परिकल्पना गर्न अब छोड्नुहोस ।’ उनले आफुहरुको मुख्य माग भनेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री बन्न नपाउने, प्रधानमन्त्रीसहित ११ जनाको मन्त्रीमण्डल, सांसद संख्या ११५ मात्र रहने, विदेशमा बस्ने नेपालीहरुले समेत इ–भोटिङ गर्न पाउने र निर्वाचन प्रणालीमा आमुल परिवर्तन रहेको बताएका थिए ।

‘नेपालमा बसोबास गर्ने सबै धार्मिक समूदायको सहिष्णुता, सह–अस्तित्व र पहिचान रहने गरि सनातन हिन्दुसापेक्ष अधिराज्य बनाउने हाम्रो माग हो,’ उनले भने । भ्रष्टाचारमा लिप्त गणतन्त्रले मुलुकलाई समृद्ध बनाउन नसक्ने भन्दै यस आन्दोलनमा सहभागी हुन सबैमा आग्रह गरेका थिए ।

‘म विदेशी मित्रहरुलाई प्रश्न गर्न चाहन्छु–के तपाईले नेपाललाई भ्रष्टाचारयुक्त मुलुकको रुपमा हेर्न चाहनुहुन्छ ? के तपाईं नेपालको विदेश नीति असफल भएको हेर्न चाहनुहुन्छ ? के नेपाल आर्थिक संकटमा गएको हेर्न चाहानुहुन्छ ? यदि हेर्न चाहनुहुन्न भने र तपाईंहरु नेपालको सच्चा मित्र हो भने अब नेपालमा राजनीतिक परिवर्तन गर्ने समय आइसक्यो र त्यसको नेतृत्व नेपालका लागि नेपाली पार्टीले लिन्छ । हामीलाई साथ दिनुहोस । नेपालप्रतिको दृष्टिकोण बदल्नुहोस । अहिले रहेका राजनीतिक दलहरुले अब नेपाललाई बचाउन सक्दैनन् । हामी तपाईहरुलाई भेट्नेछौं । सरकारलाई समर्थन गर्ने काम बन्द गर्नुहोस’–उनले भने ।

साथै, उनले आफ्नो पार्टीले दुई ठूला छिमेकी राष्ट्रहरु भारत र चीनसँग सुमधुर सम्बन्ध राख्नेसमेत दाबी गरे । ‘भारत र चीनलाई म आग्रह गर्न चाहन्छु । नेपालमा हुने राजनीतिक परिवर्तनको लागि आफ्नो ढोका खुल्ला गर्नुहोस’–उनले भने ।
यस्तै, उनले आफुहरुले सत्ताको लागि आन्दोलन गर्न नलागेको स्पष्ट पार्दै यही सरकारले नागरिक आयोग गठन गरेर हाम्रो माग पुरा गरे समर्थन गर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै हाँस्यकलाकार राजाराम पौडेलले नेपालमा आन्दोलन नगरेर कुनैपनि राम्रो काम हुन नसेकेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए । उनले अहिलेका राजनीतिक दलमा रहेकाहरुलाई आफुले नेता नभइ खुत्रुके भनेर सम्बोधन गर्ने बताए । ‘खुत्रुके भर्नुहोस तर, समय आएपछि हामीले त्यसलाई फुटाएर देश र जनताको लागि प्रयोग गर्नेछौं’–उनले भने ।

यस्तै, उनले कलाकारिता क्षेत्रमा रहेका सम्पूर्णलाई नेपाल रह्यो भनेमात्र नेपालको कलाकार रहने भन्दै पार्टीको झण्डा नभएर देशको झण्डा बोक्न अनुरोध गरे ।

पार्टीका सचिव समेत रहेका गुरु दिपक आत्रेयले भ्रष्टचारको अन्त्य अब आफूहरुले गर्ने आन्दोलनले मात्र गर्नसक्ने भन्दै ‘परिवर्तनका लागि नागरिक आन्दोलन’लाई सहयोग गर्न आग्रह गरे ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot