Logo

तेलको मूल्य आकाशिदै गर्दा यूरोपमा विद्युतीय कारको विक्री बढ्यो, नेपालमा के होला ?



एजेन्सी, ७ माघ । विश्वबजारमा इन्धनको मूल्य निरन्तर बढिरहेको छ । आज कच्चा तेलको मूल्य प्रतिब्यारल ९० डलर कटेको छ । दैनिक एक डलरभन्दा बढी दरले मूल्यवृद्धि भइरहेको छ ।

तेलको मूल्य अझै बढ्ने आँकलन गरिएको छ । रुसले युक्रेनमाथि हमला गर्ने हल्ला देखि उत्पादक देशहरुले उत्पादन नबढाउँदा मूल्य आकाशिने अवस्था बनेको हो ।

तेलको मूल्य बढेसँगै यूरोपमा विद्युतीय सवारीमा जोड दिन थालिएको छ । यूरोपमा विद्युतीय सवारीको विक्रीले नयाँ किर्तिमान तोडेको छ । डिजेल गाडीभन्दा विद्युतीय गाडीको विक्री डिसेम्बरमा बढी रहेको तथ्यांक सार्वजनिक भइसकेको छ । जनवरीमा पनि विक्री बढिरहेको उल्लेख छ ।

बेलायतमा टेस्ला मोडल ३ कार गत वर्ष बढी बिकेको छ । तर, यसप्रकारका विद्युतीय कार डिजेल कारभन्दा तीन गुना बढी मूल्यका छन् ।
फाइनान्सियल टाइम्सको तथ्यांक अनुसार २०२१ को अन्तिमतिर विद्युतीय कार विक्रीले डिजेल कारको विक्रीलाई उछिनेको छ । पश्चिम यूरोपमा १ लाख ७६ हजार विद्युतीय कार विक्री हुँदा डिजेल कार १ लाख ६० हजार विक्री भएको छ । विद्युतीय कारको मूल्य बढी भएकाले उपभोक्ता अझै उत्साही भएका छैनन् ।

नेपालमा पनि विद्युतीय कारमा आकर्षण बढेको छ । तर, विद्युतीय कारको मूल्य पेट्रोल र डिजेल कारभन्दा दोब्बरभन्दा बढी रहेको छ । तेलको मूल्य वृद्धिले भने उपभोक्ताहरुमा विद्युतीय कारप्रति आकर्षण बढ्ने देखिएको छ । तर, सरकारले कर नघटाउँदा मूल्यमा कमी आएको छैन । सरकारले विद्युतीय सामाग्री प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको भनिएपनि कार्यान्वयनमा आएको छैन । जसका कारण विश्वबजारमा तेलको मूल्य वृद्धि हुँदा देशको ठूलो धनराशी बाहिरिएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्