Logo

ऋषि धमलाले खोले दैनिक २० घण्टा काम गर्नसक्नुको रहस्य



काठमाडौं, ८ माघ । ॐशान्ति धर्मावलम्बीहरुले नयाँ सत्ययुगी संसार स्थापना हुन लागेको भन्दै संसार परिवर्तन हुने दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै भगवान धर्तीमा आएको परमात्माको सन्देश सबैको कानमा पुर्याउन यस कार्यक्रमको आयोजना गरिएको प्रमुख राजयोग प्रशिक्षक ईन्द्रबहादुर चन्दले बताएका छन् ।

विश्वमा सबै मनुष्य आत्माहरुलाई सुःख, शान्ति र सम्पन्न राज्य व्यवस्था चाहिएको भन्दै ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले आयोजना गर्दै आएको राजयोग मेडिटेशनको सात दिने कोर्श लिन संस्थाको आग्रह छ । संस्थाले नजिकैको जुनसुकै ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमा गएर दिनको ४५ मिनेटका दरले सात दिनको कोर्श लिन सकिने बताईएको छ ।

म को हुँ ? भगवान को हुनुहुन्छ ? यो सृष्टी भन्दा पहिला म को थिएँ ? फेरी के बन्दैछु ? भन्नेबारे जारकारी लिन कोर्शले सहयोग गर्ने बताइएको थियो ।

कार्यक्रमका प्रमुख अथिति रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले मेडिटेसनले मान्छेलाई एक घण्टामा परिवर्तन गर्नसक्ने भन्दै यसबाट शरिरमा नयाँ र सकारात्मक तरंग ल्याउने बताएका छन् । ‘मैले योग, ध्यान र मेडिटेसन गरें भने केही नयाँ कुरा आउँछ भन्ने लाग्छ । यसले शरीरमा नयाँ तरंग ल्याउँछ । यस संस्थाले समाजलाई परिवर्तन गर्नको लागि योग, ध्यान र मेडिटेशनको माध्यमबाट राम्रो भूमिका खेलेको छ ।’

यस्तै, उनले मान्छेको आत्मा जहिलेपनि खुसी हुनुपर्नेमा जोड दिएका थिए । आफु दैनिक २० घण्टा काम गर्न सक्नुमा सकारात्मक सोचले काम गरेको उनको भनाइ थियो ।
‘आजको दिनबाट म नकारात्मक कुरा नगर्ने संकल्प गर्छु । यो देशमा अन्याय/अत्याचार नहोस र शान्ती होस भन्ने मेरो चाहना हो’–उनले भने ।

राजयोगका प्रमुख इन्द्रबहादुर चन्दले नयाँ संसार बनाउने भगवान कस्तो हुनुहुन्छ ? भन्ने सचित्र जान्न ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमार्फत सबैलाई कोर्श गर्न आग्रह गरेका थिए । साथै, उनले यो संसार पूर्ण रुपमा ध्वस्त हुने र ३३ कोटी देवीदेवताको राज्य स्थापना हुने दाबी गरेका थिए । ‘कोरोनाले संसारभरका मान्छेलाई कहाँ जाउँ र कसो गरुँ भन्ने अवस्था रहेको समयमा भगवान आएर धेरै कुरा सिकाउनुभएको छ । पुरानो दुनियाँको विनाश र नयाँ दुनियाँको स्थापना हुँदैछ । बगिरहेका खोलाहरु थुनिरहेका छन् । बिभिन्न रोगहरु उत्पती भइरहेका छन्’–उनले भने ।

साथै, उनले भविष्यको सत्ययुगमा आफुहरु देवी÷देवता बन्ने जसलाई साम्यवादी, समाजवादी र समानुपातिक राज्य व्यवस्था भनिने उनको भनाई थियो ।
उनले भने,‘गीतामा दिइएको वचनअनुसार यो संसारमा अधर्मको विनाश गराएर सधर्मको स्थापना गर्न भगवान यो संसारमा आउनु भएको कुरा सत्य हो । हामीले कुनै कुप्रचार नगरेर सत्य बनाउन आएका हौं।’

यस्तै, ‘प्रकृतिले म यो संसार ध्वस्त पारेरै छाड्छु, तपाईं सम्हाल्नुहोस भनेर परमात्मा भगवानलाई माथिबाट बोलाएको’ उनको दाबी थियो । ‘त्यसैले भगवान यो संसारमा आउनुभएको छ । यो कुरा सबैले बुझ्नुपर्ने छ’ उनले भने ।

उनले विश्वका सबै मनुष्य आत्माहरुलाई सुःख, शान्ति र सम्पन्न राज्यव्यवस्था चाहिएको दोहोर्याए । उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘त्यही सुख, शान्ति र आनन्दमय जीवन बनाउन हरेक मनुष्य आत्माले गरेको मेहनत त्रिकालदर्शी, त्रिनेत्री, ज्ञानको सागर, शान्तिको सागर, आनन्दका साग सबै मनुष्य आत्माहरुका दुःखहर्ता, सुखकर्ता प्रेमको सागर सबै शक्तिवान भगावन पिताको हरेक मनुष्य आत्मालाई एउटै निर्देशन छ । अनेकौं मत भिन्नता छोडेर आफूलाई आत्मा सम्झेर उहाँ बाबा भगवानलाई प्यारले याद गर्नुछ । यस ईश्वरीइ पढाईमा सबैलाई अनिवार्य लाग्न अनुरोध छ ।’

 



प्रतिक्रिया दिनुहोस्