Logo

देउवा-ओलीको कहाँ मिल्यो कुरा ?



काठमाडौं, ८ माघ । नेपाली काँग्रेस संविधान बमोजिम स्थानीय निर्वाचन पहिले गर्ने पक्षमा उभिएको छ । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय चुनाव पहिले गर्नुपर्नेमा गठबन्धन बैठकमा जोड दिएका छन् । तर, गठबन्धनका घटकहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पहिले प्रतिनिधि सभाको चुनावको पक्षमा उभिएका छन् । यसले गठबन्धनभित्र मतभेद देखिएको छ ।

देउवासँग नजिक भएका काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान बमोजिम समयमै स्थानीय चुनाव हुनुपर्ने बताएका छन् । सिंहले आज यस्तो अभिव्यक्ति दिनुलाई अर्थपूर्ण मानिएको छ ।

चुनावको विषयमा गठबन्धनभित्र मतभेद बढ्दै जानुमा विभिन्न मुद्दाहरु रहेका छन् । देउवा एमसीसी अगाडि बढाउन चाहन्छन् । तर, प्रचण्ड र माधव नेपाल यसलाई अलमलाएर रोक्न खोजिरहेका छन् । प्रतिनिधि सभाको चुनावमा देश गएमा एमसीसीको विषय टर्न सक्छ । अर्कोतर्फ, गठबन्धनबीच चुनावी तालमेलको सम्भावना पनि रहन्छ ।

चुनाव कुन पहिले गर्ने र कहिले गर्ने विषयले मतभेद बढ्दा गठबन्धन नै धरापमा पर्ने सम्भावना पनि छ । मध्यमार्गी खोज्न स्थानीय चुनाव र प्रतिनिधि सभा चुनाव एकसाथ गर्ने पनि हुनसक्छ । जेठमा चुनाव गर्ने गरी मध्यमार्गी बाटो खोज्नेबारे पनि छलफल भएको छ ।

नेकपा एमाले भने पहिले स्थानीय चुनाव गर्नुपर्ने पक्षमा छ । उसले संविधानको प्रावधानलाई उठाइरहेको छ । काँग्रेस पनि स्थानीय चुनाव पहिले गर्नुपर्ने पक्षमा उभिएकाले एमालेलाई सहज भएको छ ।

अहिले स्थानीय चुनाव पहिले गर्ने विषयमा काँग्रेस र एमालेबीच मत मिलेको छ । अर्कोतर्फ, एमसीसीको मुद्दामा पनि दुई दल सहमत हुनसक्ने सम्भावना छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ । ओली पनि प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्ने पक्षमा थिए । उनले अहिले भने यसरलाई रणनीतिक कार्डका रुपमा हेरेका छन् । गठबन्धनका माओवादी र नेकपा एस एमसीसीको विपक्षमा उभिए एमाले पक्षमा उभिने सम्भावना छ । गठबन्धन तोड्ने शर्तमा एमसीसी पारित गर्न तयार देखिने सकेत गरेको एमालेका कारण सत्तामा हलचल आउने सम्भावना बढेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्