Logo

भयावह बन्दै व्यापार घाटाः बजेटभन्दा व्यापार घाटा बढी हुने निश्चित



काठमाडौं, माघ १० । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ। व्यापार घाटा मुलुकको कुल बजेटको आकारभन्दा ठुलो हुने देखिएको छ।

चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको छ। ६ महिनामै व्यापार घाटा करिब ९ खर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्दा एक वर्ष (१२ महिना) मा व्यापार घाटा करिब १८ खर्ब रूपैयाँ पुग्ने देखिन्छ। यो मुलुकको बजेटको आकार भन्दा ठुलो हो।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म (६ महिनाको अवधिमा) व्यापार घाटा ८ खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। पोहोर सोही अवधिमा व्यापार घाटा ६ खर्ब रूपैयाँ थियो। यो पोहोरको तुलनामा ४६.६४ प्रतिशतले बढी हो।

गत आवको पुससम्म ६ खर्ब ६१ अर्ब रूपैयाँको सामान आयात भएकोमा यो वर्षको सोही अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड रूपैयाँको आयात भएको छ। विभागका अनुसार चालु आवको ६ महिनामा आयात ५१ प्रतिशतले बढेको छ। धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ। १ खर्ब २० अर्ब रूपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास आयात भएको छ।

करिब १० खर्बको वस्तु आयात हुँदा १ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको विभागले जनाएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.३७ प्रतिशत छ भने निर्यातको हिस्सा १०।६३ प्रतिशतमा सीमित छ। यो वर्ष निर्यात ९५.४८ प्रतिशतले बढेको छ। पोहोर सोही अवधिमा ६० अर्ब ७९ करोड रूपैयाँको सामान निर्यात भएको थियो।

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ। भारतबाट ६ महिनामा ६ खर्ब ३ अर्ब ५४ करोड ५१ लाख रूपैयाँको वस्तु आयात भएको छ। भारतपछि चीनबाट ठूलो मात्रामा सामान आयात भएको छ। चीनबाट १ खर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रूपैयाँ मूल्य बराबरका वस्तु आयात भएको छ।

सोही अवधिमा भारततर्फ ९६ अर्ब ५६ करोड र चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार रूपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएको छ।

रेमिटेन्स आगमनमा कमी र वस्तुको आयात वृद्धि हुँदा मुलुकमा डलर सञ्चितिमा गिरावट आएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्