Logo

टेलिकमको तार चोरी गर्ने ५ जना पक्राउ



काठमाडौं, १० माघ। तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल नगरपालिका-७ घर भएका २३ वर्षीय प्रेम बहादुर बोहरा, काठमाडौं सुकेधारा डेरा गरी बस्ने कैलाली घोडाघोडी नगरपालिका-२ घर भएका २५ वर्षीय नमेश बुढा, गोरखा सिराञ्चोक गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर, काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २४ वर्षीय गोबिन्द साउँद र काठमाडौं महानगरपालिका-१६ नयाँ बजार बस्ने काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ३० वर्षीय प्रबिन कार्की रहेका छन् ।

उक्त स्थानमा टेलिकमको तार चोरी भएको भन्ने सूचना प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश न.३ -०१-०२३ च.४३०१ नम्बरको हात्ती गाडी जंगलतर्फ गईरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त गाडीमा टेलिकमको तार गुजुल्टो पारेको अवस्थामा फेला पारी चोरी गर्ने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु र १ सय १४ मिटर कालो टेलिफोनको तार समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्