Logo

अपहरणमा परेका राइडरले बाटोमा भेटेका व्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएका थिए : पठाओ



काठमाण्डौ, १० माघ । गत शनिवार राति अपहरणमा परेका पठाओ राइडरले अफलाइनमा बार्गेनिङ गरेर यात्रु बोकेको राइड शेयरिङ कम्पनी पठाओले जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै शनिवार राति अपहरणमा परेका राइडर प्रविण राईले पठाओ एपको प्रयोग नगरि अफलाइनमा यात्रुसँग बार्गेनिङ गरेर सेवा दिएको स्पष्ट पारेको छ । पठाओले राइडर नियमभन्दा बाहिर गएको पनि जनाएको छ ।

‘पठाओको नियम अनुसार यात्रु र चालक दुवैले अनलाइनमार्फत पारदर्शी कारोबार गरेर सेवा लेनदेन गर्नुपर्ने भए पनि शनिवार राति अपहरणमा परेका प्रविण राईले पठाओ एपको प्रयोग नगरि अफलाइनमा यात्रुसँग बार्गेनिङ गरेर सेवा दिएको नियमभन्दा गलत हो ।’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘पठाओको सेवा लिदै वा दिँदै गर्दा घटना भएको देखिदैन । राइडरले बाटोमा भेटेका व्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो ।’

कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पठाओ मोबाइल एपको विवरण अनुसार अपहरण र लुटपाटमा पर्ने व्यक्ति प्रविन राईले यस घटना हुनु अगाडि सोही दिनमा सामाखुसीदेखि कोटेश्वरसम्म अन्तिम राइड लिएको देखिन्छ । रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुङ्गिएको छ ।’

कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नभएको कम्पनीको भनाई छ । ‘कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध छैन ।’ सुरक्षित, सुनिश्चित राइडका लागि अनलाइन राइड मात्र लिन र दिनका लागि सम्पुर्ण सेवाग्राही र राइडरलाई कम्पनीले अनुरोध समेत गरेको छ ।

अनलाइन राइडको समयमा कसैले गलत गरिहालेमा व्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आइटी सिस्टममा हुने भएकाले सप्रमाण प्रहरीमा उजुरी दिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्