Logo

सूर्यमाथि आक्रमण हुनलागेको भन्दै एमालेभित्र खैलाबैला



काठमाडौं, १० माघ । नेकपा एमालेभित्र सूर्य चिन्ह खारेज गर्न खोजिएको भन्दै खैलाबैला भएको छ । निर्वाचन आयोगले नै राष्ट्रिय झण्डालगायत राष्ट्रिय पहिचान बोकेका चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने निर्णय कार्यान्वयन गर्न खोजेपछि सूर्य चिन्ह समेत तारोमा परेको भन्दै खैलाबैला भएको छ ।

रिपोर्टर्स नेपालले एमालेको चुनाव चिन्ह सूर्य नरहने शिर्षकमा तथ्यसहित समाचार प्रकाशित गरेको छ । समाचारमा यो विषय अब अदालतले छिनोफानो गर्ने अवस्था विकास हुँदै गएको समेत उल्लेख छ ।

एमाले वृत्तमा सूर्य चिन्ह खारेज गर्न खोजिएको भन्दै छलफलहरु चल्न थालेको छ । एमालेका एक नेताले रिपोर्टर्स नेपाललाई आफूहरु गम्भीर भइसकेको बताएका छन् ।

विशेषगरी २ माघमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन आयोगलाई लेखेको पत्रले तरंग ल्याइदिएको हो । निर्वाचन आयोगको उक्त पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ भन्ने निर्णयसहित उल्लेख गरेको छ । आयोगले यसबारे २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ । यो विषय पनि अदालतमा जाने भएको छ ।

अदालतमा राप्रपाको गाई चिन्हबारेको विषय पुगेमा एमालेको सूर्य चिन्हबारे पनि फैसला हुनसक्छ । गाई राष्ट्रिय जनावर हो भने सूर्य राष्ट्रिय झण्डामा अंकित चिन्ह हो । आयोगको पत्रलाई आधार मान्दा यी दुवै चिन्ह प्रयोग गर्न नपाइने स्थिति छ । गरेको भए पुनरावलोकन गर्नुपर्ने आयोगको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्