Logo

भक्तपुरमा ज्वरोका बिरामी बढे, सिटामोलको अभाव



काठमाडौं, माघ ११ । भक्तपुरमा घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको अभाव भएको छ । भक्तपुरमा ज्वरोका बिरामी बढ्दा औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । माग बढेअनुसार आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो । फार्मेसी सञ्चालकहरूले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले अभाव भएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताएका छन्। उनले सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दूधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताए।

ज्वरोको बिरामी ह्वात्तै बढ्दा बाहिर सिटामोल अभाव भएको हुन सक्ने भन्दै उनले भक्तपुर अस्पतालमा दैनिक ७ सयभन्दा बढी बिरामी बहिरङ्ग सेवा लिन आउने गरेको बताए । त्यसमध्येमा २ सय ५० भन्दा बढी बिरामी ज्वरो आएकै बिरामी हुने गरेको जानकारी दिँदै उनले ज्वरोको बिरामी भने निकै बढेको बताएका छन् ।

तर, एसोसिएसन अफ फर्मास्युटिकल्स प्रोड्युसर अफ नेपाल (अप्पोन) ले भने बजारमा सिटामोलको अभाव भएको हल्ला मात्र भएको जनाएको छ । एकैचोटि धेरै उत्पादन गर्दा औषधि बिक्री नभएर यसको म्याद सकिने समस्या आउन सक्ने भएकाले एकैचोटि धेरै उत्पादन नगरिएको अप्पोनले जनाएको छ । अप्पोनले आवश्यक परेको खण्डमा १ करोड ट्याबलेट वितरण गर्न सक्ने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot