Logo

‘धार्मिक आस्थाका कारण’ मन्त्रीबाट बर्खास्त गरिएको बेलायती सांसदको आरोपमाथि छानबिन गर्न जोनसनको निर्देशन



एजेन्सी, ११ माघ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्वयातायात मन्त्री नुसरत घानीले लगाएको आरोपबारे छानबिन गर्न निर्देशन दिएका छन्। घानीले धार्मिक आस्थाका कारण आफूलाई मन्त्रीपदबाट बर्खास्त गरिएको दाबी गर्दै आएकी छिन् । घानीले सन् २०२० मा आफू मुस्लिम भएको कारणले मात्र मन्त्री पदबाट बर्खास्त भएको बताउँदै आएकी हुन्।

कन्जरभेटिभ पार्टीका सांसद घानी भन्छिन्,‘जब मैले पदबाट बर्खास्त गर्नुको कारण सोधें जवाफ थियो–मुस्लिम हुनु एउटा मुद्दा हो।’ यता, कन्जरभेटिभ चीफ ह्विप मार्क स्पेन्सरले घानीको आरोपलाई पूर्णतया गलत र अपमानजनक भएको बताए। क्याबिनेट मन्त्री नदीम जाहवीले घानीले लगाएको आरोपको छानबिन हुनुपर्ने बताएका थिए। घानीलाई सन् २०१८ मा यातायात विभागमा नियुक्त गरिएको थियो। तर, प्रधानमन्त्री जोनसनको सरकारमा सानो फेरबदलको क्रममा फेब्रुअरी २०२० मा उनलाई हटाइएको थियो।

प्रधानमन्त्रीका प्रवक्ताले सोमबार भने,‘प्रधानमन्त्रीले नुसरत घानीले लगाएक विषयमा छानबिन गर्न मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गर्नुभएको छ।’ जोनसनले सुरुमा घानीलाई कन्जरभेटिभ पार्टीमार्फत् औपचारिक उजुरी गर्न आग्रह गरेका थिए। तर, आरोप पार्टीको काममा नभई सरकारमा केन्द्रित भएको तर्क गर्दै उनले अस्वीकार गरिन्।

‘प्रधानमन्त्रीले अब अधिकारीहरूलाई छानबिन गर्न आग्रह गर्नुभएको छ,’ प्रवक्ताले भने,‘उहाँले यो आरोपलाई गम्भीरताका साथ लिनु भएको छ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्