Logo

जब सामान्य मानिसको खातामा तीन महिनामै साढे ३७ करोड बढी रुपैयाँ जम्मा भयो



काठमाडौं, माघ १२। राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो ।

सुन्दा नै अनौठो र अचम्मको लाग्ने त्यस सूचनाका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन राजस्वका अधिकारीहरूले थोरै पनि समय खेर फालेनन् । जब अनुसन्धानका क्रममा नयाँनयाँ तथ्य खुले, राजस्वका अधिकारीहरू नै तीनछक परे ।

राजस्वका अधिकारीहरूले पाएको सूचना यस्तो थियो– २५ वर्षका दिनेश खड्का नाम गरेका एक विद्यार्थी नेपाली रुपैयाँलाई डलरमा रूपान्तरण गर्दै विभिन्न ठाउँमा भुक्तानी गर्ने काम गर्छन् ।

राजस्व अनुसन्धान विभागका अधिकृतहरूले पाएको यो सूचना कच्चा खालको थियो । यही कच्चा सूचनाका आधारमा विभागले गरेको अनुसन्धानले भने प्रविधिको सहयोगमा हुने गरेको नयाँ खालको अपराधलाई सतहमा ल्याएको छ ।

नयाँ खालको अपराध अवैध अमेरिकी डलर अपचलनसँग सम्बन्धित छ । जसअनुसार नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रूपान्तरण गरेर मोबाइल एपमार्फत अज्ञात ठाउँमा भुक्तानी गर्ने गरिएको थियो । यसलाई नेपालमा अवैध मानिएको छ । यसलाई क्रिप्टोकरेन्सीको कारोबार भनेर पनि भनिन्छ ।

आफूलाई प्राप्त सूचनापछि राजस्वका अधिकारीहरूले छानबिन थालेका २५ वर्षका युवक कैलालीको लम्कीचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का हुन् । अनुसन्धानका क्रममा उनलाई उसकी दिदी भगवती खड्का र बाबु नरबहादुर खड्काका साथै दिनेशकी साथी अनिता धितालले सहयोग गरेको खुलासा भएको छ ।

कैलालीका खड्का परिवार कुनै ठूलो आय स्रोत भएको परिवार होइन । व्यापार व्यवसायमा पनि लागेका छैनन् । डलरको अपचलनमा संलग्न दिनेश एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु पशुपति क्याम्पस इकाइ सदस्य र उनका बाबु नरबहादुर एमाले सुदूर प्रदेश कमिटी सदस्य हुन् ।

यी व्यक्तिको खातामा तीन महिनाको अवधिमा ३७ करोड रुपैयाँ डिपोजिट भएको फेला परेपछि अनुसन्धान अधिकृत अचम्ममा पर्नु पनि स्वाभाविक नै थियो ।

अनुसन्धान निष्कर्षमा पुगेपछि यी चारै जनाविरुद्ध राजस्व अनुसन्धान विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा विदेशी विनिमय अपचलनको आरोपमा मुद्दा दर्ता गरेको छ । कुल ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा राष्ट्र बैंकले जारी गरेको सूचनाविरुद्ध कसुर गरेको दाबीसहित विभागले मुद्दा दर्ता गरेको हो । विभागकाअनुसार मुख्य आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्षबराबरको कैद सजाय माग गरिएको छ । उनीहरूले मिलेमतोमा अनलाइनमार्फत अवैध रूपमा डलरको कारोबार गरेको पाइएको विभागले जनाएको छ ।

आरोपितहरूले तीन महिनाको अवधिमा ३७ करोड ६४ लाख ११ हजार १ सय नेपाली रुपैयाँलाई ३१ लाख २७ हजार ८९६।७९ सेन्ट डलरमा रूपान्तरण गरेर अनलाइनमार्फत स्रोत नखुलेको ठाउँमा भुक्तानी गरेको विभागले जनाएको छ ।

उनीहरूले सामूहिक रूपमा मिलेमतो गरी इ–स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्