Logo

चुनावको मिति तोके गठबन्धन तोड्ने प्रधानमन्त्री देउवालाई प्रचण्ड र माधव नेपालको चेतावनी



काठमाडौं, १२ माघ । पाँच दलीय सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी स्थानीय तहको निर्वाचनलाई लिएर गठबन्धनमा मत विभाजित छ । कांग्रेसभित्रबाट स्थानीय तहको निर्वाचन बैशाखमै गर्नुपर्ने आवाज उठेको छ। सभापतिमा पराजित डा. शेखर कोइराला समूहले त बैशाखमै निर्वाचन गर्नुपर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको ट्रयापमा पर्न नहुने आवाज उठाईसकेको छ ।

कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि स्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा मान्य नहुने चेतावनी दिएका छन् । तर, गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नहुने अडान लिएका छन् ।

खासगरी प्रचण्डले तीनै तहको निर्वाचन आगामी मंसिरमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । दाहालको प्रस्तावमा प्रधानमन्त्री देउवा पनि सकारात्मक बनेको चर्चा छ । उता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि स्थानीय तहको निर्वाचनभन्दा अघि प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने पक्षमा खुल्न थालेको कुरा बाहिर आएका छन् । प्रधानमन्त्री देउवाले यो बीचमा कानूनविद्हरुसँग पनि परामर्श गरिसकेका छन् । उता, निर्वाचन आयोगले भने तत्काल निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको छ । प्रधानमन्त्री देउवा पनि स्थानीय तहको निर्वाचनको मिति तोक्नेगरि अघि बढेका छन् ।

तर, गठबन्धनमा आवद्ध दलका नेताहरु प्रचण्ड र माधव नेपालले भने स्थानीय तहको निर्वाचनको मिति तोकिए आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । उनीहरुले सरकार ढालिदिने पनि चेतावनी दिएको स्रोतको दाबी छ । सर्वोच्च अदालतको परमादेशपछि गठन भएको यो सरकार संसद्को पूरा कार्यकाल चल्नुपर्ने आवाज पनि उठेको छ । प्रधानमन्त्री देउवा भने पार्टी र गठबन्धनका नेताहरुको छुट्टाछुट्टै दबाबमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्