Logo

अमेरिका र रुसको सामरिक स्वार्थले युद्धमा फस्न लागेको युक्रेन



दीपेश केसीः अमेरिका र रुसबीच तनाव बढ्दा विश्वकै ध्यानाकर्षण भएको छ । युक्रेनको विषयमा यी दुई देशबीच तनाव बढेको हो । यो घटनाले विश्वको अर्थतन्त्रमा नकारात्मक असरहरु पर्न थालेको छ । रुसले युक्रेनमाथि हमला गर्ने हल्लाले मात्र विश्व बजारमा तेलको मूल्यमा व्यापक वृद्धि भई प्रति ब्यारल कच्चा तेलको मूल्य ९० डलर पुगेको छ ।

रुस बढी तेल उत्पादन गर्नेमध्येको देश हो । रुससँग तेलका अलावा खनिजको ठूलो भण्डार छ । रुसको साइबेरियालाई खनिजको भण्डार नै भनिन्छ । १५ करोडभन्दा कम जनसंख्या भएको रुस विश्वकै ठूलो देश मात्र होइन शक्तिशाली देशमध्येको पनि हो । उसले खनिजको नियन्त्रण र सुरक्षाका लागि भन्दै हतियारमा ठूलो धनराशी खर्चिएको छ ।

सन् १९८८ देखि १९९१ बीचमा सोभियत संघ विघटनपछि रुसका रुपमा खुम्चिएपछि केही कमजोर भएको थियो । तर, उसले पुनः शक्ति वृद्धि गर्दै लग्यो । विशेषगरी भ्लादिमिर पुटिन सत्तामा आएपछि रुस झन् बलियो बन्दै गयो । पूर्व सोभियत संघका देशहरुमा मात्र नभई अफ्रिका, एशिया, यूरोप र अमेरिकी महादेशहरुमा रुसले प्रभाव बढाउन थाल्यो । सिरिया, इरान, लिबिया, अफगानिस्तानलगायतका देशहरुमा रुसको प्रभाव प्रत्यक्ष अप्रत्यक्ष देखिन थाल्यो ।

रुसले पूर्व सोभियत राज्यहरुमा अमेरिका र उसको मित्र शक्तिहरुको उपस्थिति देख्न चाहेन । युक्रेनलाई सामरिक महत्वको देश मानेको रुसका लागि अमेरिका र नाटो राष्ट्रहरु चुनौती बनेर तेर्सिए । युक्रेन नाटोमा सहभागी हुनु भनेको रुसका लागि धक्का हुने ठान्यो । यसकारण उसले युक्रेनमाथि हस्तक्षेपकारी गतिविधिहरु गर्न थाल्यो ।

युक्रेनको दुईतर्फ रुसको सीमा जोडिएको छ । अर्कोतर्फ, रुसले नियन्त्रण बनाएको क्रिमिया र समुन्द्र छ । रुसकै प्रभाव रहेको बेलारुस पनि जोडिएको छ । पोल्यान्ड, स्लोभेकिया, हंगेरी, रोमानिया, मोल्डोभा पनि युक्रेनसँग जोडिएको छ । पूर्व यूरोपको दोस्रो ठूलो देश युक्रेन यसकारण पनि रुसका लागि सामरिक महत्वको क्षेत्र भएको छ ।

अमेरिकासहित पश्चिमा देशहरु रहेको नाटो शक्ति छ । जसमा ३० देश आवद्ध छन् । सैन्य साझेदारी समेत रहेको यो शक्तिमा रहेका पोल्यान्ड, हंगेरी, स्लोभेकिया, रोमानिया नाटोमा आवद्ध भइसकेका छन् । आफूसँग सीमा जोडिएको युक्रेन पनि नाटोमा आवद्ध हुनु भनेको रुसका लागि सैन्य चुनौती हो भन्ने मस्कोको बुझाई देखिन्छ । यसकारण उसले युक्रेनलाई नाटोमा आवद्ध हुनबाट रोक्न खोजिरहेको छ । नाटो राजनीतिक र सैन्य एलाइन्स हो भन्ने स्पष्ट उल्लेख छ । सदस्य राष्ट्रहरुको सुरक्षामा राजनीतिक र सैन्य माध्यमले सुनिश्चित गर्ने उल्लेख छ । यसकारण पनि युक्रेन नाटोमा आवद्ध हुनु रुसका लागि चुनौती बनेको हुनसक्छ । अमेरिकासहित यूरोपका शक्तिशाली देशहरु बेलायत, फ्रान्स, जर्मनीलगायतको छातामा युक्रेन पुगे सैन्य खतरा बढ्ने विश्लेषणहरु भएका छन् ।

सामरिक महत्वको युक्रेनमा अमेरिका र नाटोको प्रभावलाई रुसले आफूलाई घेर्ने रणनीतिका रुपमा उल्लेख गरेको छ । रुसी मिडियाले अमेरिकाले युक्रेनलगायत छिमेकी देशहरुबाट आफूलाई घेर्न खोजेको भन्दै प्रस्तुती गरिरहेका छन् । जबकि पश्चिमा मिडियाले रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको देखि पपेट सरकार ल्याउन खोजेको प्रचार गरिरहेका छन् ।

शक्तिराष्ट्रको क्रिडास्थल
वास्तवमा युक्रेन अमेरिकालगायत पश्चिमा देश र रुसबीचको टकरावमा खेलमैदान बनेको छ । उसले ठूलो आर्थिक चुनौती भोगिरहेको छ । युक्रेनसँगको सीमामा रुसले एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ । रुसी मिडियाले यो कदम अमेरिकाको घेराबन्दी तोड्नका लागि हो भनी प्रस्तुती गरिरहेका छन् । अमेरिकालगायत पश्चिमा मिडियाले रुसको आक्रमण रोक्न भन्दै हतियार तयारी अवस्थामा राखेको उल्लेख गरेका छन् । नाटो देशहरुले युद्धक विमान र जहाज तयारी हालतमा राखेका छन् । युक्रेनमा ठूलो परिमाणमा गोलाबारुदलगायत हतियार पुगिसकेको छ ।
युक्रेन यसरी युद्धको दलदलमा फस्ने खतरा बढ्दै गएको छ । उसले छिमेकी रुसको सामरिक स्वार्थलाई चुनौती दिइरह्यो । यसले पश्चिमा शक्तिलाई फाइदा त पुग्यो तर युक्रेन आफै संकटको सामना गरिरहेको छ ।

रुसले पुनः शक्ति आर्जन गर्दै नोर्ड स्ट्रिम भनिने ग्याँस पाइपलाइनमार्फत् यूरोपमा प्रभाव बढाउन खोजेको विषय नउठेको होइन । यूरोपलाई नै राजनीतिक रुपमा रुसले प्राकृतिक स्रोतका माध्यमले विभाजन गर्न खोजेको आरोप समेत खेपिरहेको छ । विशेषगरी समुन्द्री मार्गबाट जर्मनीसँग ग्याँस पाइपलाइन निर्माण गरेपछि रुस प्रभावशाली बन्यो । उक्त पाइपलाइनप्रति अमेरिका र युक्रेन विरोधी देखिए । यही पाइपलाइनले यूरोपमा रुस प्रभावशाली हुने तर्क गरे । रुसको ग्याँस यूरोपमा सस्तो मूल्यमा पुग्दा युक्रेले मात्र वार्षिक १ अर्ब २० करोड डलर वर्षेनी गुमाउने भयो ।
रुसका लागि भन्दा जर्मनीका लागि पाइपलाइन महत्वपूर्ण मानिएको छ । १२३० किलोमिटर लामो पाइपलाइनबाट पूरा ग्याँस आपूर्ति भएमा जर्मनीलाई अहिलेको भन्दा दोब्बर बढी ग्याँस पुग्नेछ । अर्कोतपर्ः, रुसले २० प्रतिशतले मात्र यूरोपमा ग्याँस आपूर्ति बढाएमा ५० प्रतिशत मूल्य घटाउने भनेको छ । जर्मनी सस्तो मूल्यमा रुसको ग्याँस प्रयोग पाउने भएबाट उत्साही भएको छ । यतिसम्मकी जर्मनीले रुसलाई चिढ्याउन चाहेन । युक्रेनका मामलामा रुसविरुद्ध अभिव्यक्ति दिनै नौसैनिक प्रमुखले पदबाट राजीनामा दिनुपर्यो ।

सोभियत संघ हुँदा वारसा प्याक्ट देशहरु थिए । जसमा पूर्वी यूरोपका देशहरु आवद्ध थिए । अमेरिकासहितको पश्चिम यूरोपका देशहरुको संगठन नाटो छँदै थियो । जसले अहिले पूर्वी यूरोपसम्म पनि प्रभाव विस्तार गरिसकेको छ । कुनैबेला सोभियत संघ नेतृत्वको वारसा आवद्ध देशहरु चेक रिपब्लिक, हंगेरी, पोल्यान्ड नाटोमा आवद्ध भए । बल्गेरिया, रोमानिया, स्लोभाकिया, स्लोभेनियाका अलावा पूर्वी सोभियत राज्यहरु इस्टोनिया, लाट्भिया, लिथुआनिया पनि नाटोमा आवद्ध भए । नाटो विस्तार हुँदै गएपछि रुस झस्कियो ।

क्रेमलिन रुसका लागि प्रतिष्ठाको विषय बन्न पुग्यो । यसको ऐतिहासिक र भूराजनीतिक महत्व छँदैथियो । क्रेमलिन समेत रहेको युक्रेन नाटोमा आवद्ध हुनु रुसका लागि धक्का हुन्थ्यो । रुसले आफ्नो सीमा जोडिएका कुनै पनि यूरोपेली देशहरु नाटोमा आवद्ध भएकोमा रुचाएको छैन । उसले यसलाई अमेरिकाको घेराबन्दीका रुपमा बुझ्ने गरेको छ । रुसी मिडियाले रुसमाथि अमेरिकाले घेराबन्दी गर्न खोजेको र पुटिनलाई सत्ताबाट हटाउन खोजेको भन्दै प्रस्तुती गरिरहेका छन् । यसलाई रुसले एक प्रकारको युद्धको रुपमा लिन थालेको छ ।

रुसका मित्र शक्तिमा सत्ता पल्टाउने खेलहरु भएको विषय पनि रुसी मिडियामा उल्लेख छ । काजिकिस्तानको राजनीतिक संकटमा रुसले सैनिक पठाएर भूमिका खेलिसकेको छ । अफगानिस्तानमा अमेरिकी सैनिक फिर्ता भई तालिवानले सत्ता कब्जा गर्दा पश्चिमाहरुलाई धक्का परेको सन्देश गयो । यसमा पनि रुसको अप्रत्यक्ष भूमिकाको चर्चा नचलेको होइन । अमेरिकालाई उसको प्रभाव क्षेत्रबाट कमजोर बनाउन रुसले भूमिका खेलिरहँदा अमेरिकाले पनि रुसको छिमेक र आसपासमा रहेका तर रुससँग असन्तुष्ट देशहरुलाई साथ दिनथाल्यो । युक्रेनको तनावमा रुस र अमेरिकाको प्रत्यक्ष अप्रत्यक्ष संलग्नताको कारण यही हो ।

सामरिक महत्वको युक्रेनले भने अमेरिका र रुसको द्वन्द्वको मूल्य चुकाइरहेको छ । आर्थिक चुनौतीहरु झेलिरहेको छ । अर्कोतर्फ, युद्धको खतराले युक्रेन थप संकट भोग्न वाध्य भइसकेको छ । शक्तिराष्ट्रको क्रिडास्थल बन्दा युक्रेनले ठूलो मूल्य चुकाइरहेको छ । रुसले युक्रेनलाई असफल हुँदै गरेको राष्ट्रका रुपमा उल्लेख गरेको छ । अमेरिकाले रुसले युक्रेनलाई कब्जा गर्न खोजेको आरोप लगाइरहेको छ । युक्रेनको भूगोल उसका लागि बरदान सावित हुनुपर्नेमा अभिसाप सावित हुँदैछ । शक्तिराष्ट्रको टकरावले चेपुवामा पर्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्