Logo

ओलीलाई फेरि अर्को धक्का दिदै माधव नेपाल



काठमाडौं, १२ माघ । नेकपा एमाले र उसका कार्यकर्तालाई सबैभन्दा बढी बुझ्ने मध्येका नेता हुन् माधव नेपाल । उनी लामो समय एमालेको महासचिव रहे । अहिले नेपाल एमालेमा छैनन् । उनले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका नेपालले एकपछि अर्को धक्का दिदै आएका छन् । कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार गठनलाई असफल बनाउन आफ्ना विश्वासपात्र सांसदलाई फ्लोर क्रस गर्न लगाएर नेपालले धक्का दिन सुरु गरेका थिए ।
राष्ट्रियसभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई जिताउन उनले एमालेमा हुँदै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग भित्री गठबन्धन बनाएका थिए । जसका कारण एमाले उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका थिए ।

प्रदेशहरुमा एमाले सरकार ढाल्न पनि माधव नेपालले निर्णायक भूमिका खेलेका थिए । उनीसँग जे जति मत थियो त्यो गठबन्धनसँग मिलेर एमाले सरकार ढाल्न पर्याप्त थियो । ओलीलाई निरन्तर कमजोर बनाउन नेपालले रणनीतिक चार्तुयता देखाए । यसकारण ओलीले पनि माधव नेपाल एमालेलाई कमजोर बनाउन लागिपरेको आरोप लगाए ।

ओली सरकार ढाल्न पनि माधव नेपालसँग गएका २३ सांसद निर्णायक बने । अदालतको परमादेशमा पनि एमालेबाट ओली सरकार ढाल्न हस्ताक्षर गर्ने सांसदहरुको गणना भयो । पछि शेरबहादुर देउवाले प्रधानमन्त्री भएपछि विश्वासको मत लिदा माधव पक्षका २३ सांसदले मतदान गरे ।

एकपछि अर्को धक्का दिदै ओलीलाई कमजोर बनाएका माधव नेपालले राष्ट्रिय सभाको १९ सिटका लागि आजको मतदानमा गठबन्धनले क्लिन स्विप गर्ने दाबी गरिसकेका छन् । गठबन्धनको मत जोड्दा ६ वटा प्रदेशमै बढी मतान्तरले अगाडि देखिन्छ । प्रदेश १ मा भने झीनो मतले गठबन्धन अगाडि छ । यसलाई आधार मान्दा क्लिन स्विप भएमा माधव नेपाल नेतृत्वको नेकपा एस नै निर्णायक हुने देखिन्छ ।

एमाले एक हुँदा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशसभामा बहुमतकै अवस्थामा थियो । स्थानीय निकायमा पनि प्रभावको हिसाबले राष्ट्रियसभाको प्रदेश तर्फबाट चयन हुने सांसदमा राम्रो प्रतिनिधित्व हुनसक्थ्यो । तर, यसपटक चुनावमा ओलीले माधव नेपालकै कारण धक्का खाने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्