Logo

राष्ट्रिय सभा सदस्यको प्रतिष्पर्धामा ‘म्यान अफ द म्याच’ बने सोनाम शेर्पा



काठमाडौं, १२ माघ । राष्ट्रिय सभाको १९ सिटका लागि भएको मतदानमा गठबन्धनले क्लिन स्वीप गर्ने आँकलन गरिएको थियो । तर, १८ सिटमा गठबन्धनले जित्दा एक सिट गुमायो ।

प्रदेश १ मा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पाले बाजी मारे । उनलाई गठबन्धनबाट समेत मत क्रस भयो । जनता समाजवादी पार्टीका हेमराज राईलाई शेर्पाले पराजित गरे ।

गठबन्धनलाई क्लिन स्वीप गर्नबाट असफल बनाएर शेर्पा चर्चामा पुगेका छन् । चुनाव हुँदै गर्दा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले क्लिन स्वीपको दाबी गरेका छन् । उनको दलबाट उम्मेदवारहरु सबै भारी मतले विजयी भए । तर, क्लिन स्वीप सफल भएन । शेर्पाले एमालेको साख जोगाए । यसकारण उनी ‘म्यान अफ द म्याच’ भएका छन् ।

शेर्पालाई नेकपा एसका मतदाताले समेत मतदान गरेको चर्चा छ । नेकपा एसकी जयन्ती राईलाई नेकपा एमालेका मतदाताले समेत मतदान गरे । ४ प्रदेश सांसदको मत राईलाई गयो । जसका कारण सुमित्रा भण्डारी राईसँग पराजित भइन् ।

यतिसम्मकी प्रदेश १ मा नेकपा एसबाहेक नेपाली काँग्रेस र जसपाका उम्मेदवार दुवैलाई अन्तर्घात भयो । काँग्रेस उम्मेदवार गोपालकुमार बस्नेत भाग्यले विजयी भए । एमालेका गुरु बरालसँग मत बराबर हुँदा गोलाप्रथा गर्दा बस्नेतलाई भाग्यले साथ दियो ।



प्रतिक्रिया दिनुहोस्