Logo

विश्वभर नै कोरोना संक्रमणको ग्राफ बढ्यो



काठमाण्डौं, माघ १३ । विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो ।

पछिल्लो २४ घन्टामा मात्रै विश्वभर संक्रमित हुनेको संख्या ३४ लाख नजिक पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिका र फ्रान्समा रहेका छन् । कोरोना महामारी शुरु भएदेखि नै सबैभन्दा प्रभावित रहेको अमेरिकामा हालसम्म पनि संक्रमण कायमै रहेको छ ।

अमेरिकामा पछिल्लो २४ घन्टामा ४ लाख २८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । कोरोनाका कारण हुने मृत्युदर पनि विश्वमै अमेरिकाकै उच्च रहेको छ । हिजो एकै दिनमा २ हजार ४ सयभन्दा बढीको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । युरोपमा फ्रान्स सबैभन्दा बढी प्रभावित छ । फ्रान्समा पनि पछिल्लो २४ घन्टामा ४ लाख २८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

विश्वमै तेस्रो बढी संक्रमितको संख्या भएको मुलुक भारत हो । भारतमा पछिल्लो २४ घन्टामा मात्रै २ लाख ८४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । एकै दिनमा मृत्यु हुनेको संख्या पनि ६ सयभन्दा बढी छ । भारतमा दोस्रो लहरको तुलनामा तेस्रो लहरमा मृत्युदर कमै रहेको छ ।

ब्राजिल विश्वमै चौथो बढी प्रभावित मुलुक हो । बितेको २४ घन्टामा मात्रै २ लाख २० हजार नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण बेलायत, जर्मनी, इटाली र स्पेन पनि बढी प्रभावित छन् । बेलायतमा दैनिक संक्रमण १ लाख बढी छ भने अन्य मुलुकहरुमा पनि संक्रमण १ लाख ५० हजारभन्दा बढी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot