Logo

ओलीको ‘भित्री कुरो बुझेका’ माधव नेपालले फेरि अर्को धक्का दिदै



काठमाडौं, १३ माघ । नेकपा एमालेमा कुनैबेला माधवकुमार नेपाल र केपी शर्मा ओली एउटै गुटमा थिए । नेपालले ओलीलाई सबैभन्दा निकट राखेर इतर समूहका बामदेव गौतम र झलनाथ खनालको चुनौतीहरु सामना गरेका थिए । यसकारण पनि माधव नेपालले ओलीलाई सबैभन्दा बढी बुझेका र झेलेका मानिन्छ ।

ओलीलाई चिनेकैले माधव नेपालले योजनावद्ध रुपमा कमजोर बनाउँदै लान सकेका छन् । दुई तिहाईको सरकार बनाएर शक्तिशाली बनेका ओलीलाई अहिलेको कमजोर हालतमा ल्याउन माधव नेपालले नै मुख्य भूमिका खेल्दै आएका छन् ।

१२ माघको राष्ट्रियसभाको १९ सिटको प्रतिष्पर्धामा माधव नेपालले नेकपा एमालेको विगतको ८ सिटमध्ये ७ सिट फुत्काइदिएका छन् । प्रदेश १ मा सोनाम ल्याल्जेन शेर्पाबाहेक एमालेका कुनैपनि उम्मेदवार विजयी भएनन् । १८ सिटमा सत्ता गठबन्धनका घटक दलका उम्मेदवारहरु विजयी भए । यसबाट ओलीलाई फेरि अर्को धक्का भएको छ ।

ओलीलाई माधव नेपालले कर्णाली प्रदेशमा एमालेमा रहँदै धक्का दिएका थिए । प्रकाश ज्वालासहित ४ सांसदले फ्लोर क्रस गर्दा माधव नेपालकै भूमिका थियो । जसका कारण कर्णालीमा एमालेले सरकार गठन गर्नका लागि चालेको कदम असफल भयो ।

विभिन्न प्रदेशहरुमा एकपछि अर्को गर्दै एमाले नेतृत्वको सरकार ढल्यो । एमाले सरकारमा सहभागी भएकोमा हट्न पुग्यो ।

राष्ट्रियसभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई जिताउन माधव नेपालले एमालेमा हुँदै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग भित्री गठबन्धन बनाएका थिए । जसका कारण एमाले उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका थिए । कलम चिन्ह लिएर उम्मेदवार बनेका देवकोटाले बाजी मार्दा नेपाल झन् उत्साही भए ।

माधव नेपालले ओलीविरुद्ध चार्तुयता प्रदर्शन गर्दै प्रधानमन्त्रीबाट नै हटाउन भूमिका खेले । शेरबहादुर देउवा प्रधानमन्त्री बने । ओलीले गरेका कतिपय नियुक्तिहरु धमाधम देउवा सरकारले खारेज गर्यो । राजदूतहरु फिर्ता बोलाइए । अब ओलीको पालामा भएका संवैधानिक निकायको नियुक्तिमात्र बाँकी छ । यो विषय पनि अदालतमा विचाराधीन छ ।

अब माधव नेपालको आँखा राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनातर्फ गएको छ । तिमिल्सिना ओलीका विश्वासपात्र हुन् । संवैधानिक निकायमा हुने नियुक्तिमा राष्ट्रिय सभा अध्यक्ष पनि संवैधानिक परिषदको सदस्यका हैसियतले भूमिकामा हुनसक्छन् । यसकारण पनि माधव नेपालको ध्यान उक्त पदमा गएको बुझिएको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री पदेन अध्यक्ष हुन्छन् । प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन् । उपसभामुख पद खाली छ । संवैधानिक परिषद्मा कसैको पनि बहुमत छैन । काँग्रेसबाट प्रधानमन्त्री देउवा रहेका १, एमालेसँग ओली विपक्षी दलका नेता रहेको र तिमिल्सिना उनीनिकट नै रहेकाले २ जना, माओवादीबाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटा सभामुख रहेका छन् । यस हिसाबले प्रचण्डसँग १ सिट छ । प्रधानन्यायधीशमा चोलेन्द्र शमशेर जबरा छन् । उनी प्रचण्ड र माधव नेपालसँग सन्तुष्ट छैनन् । उपसभामुखमा सत्ता गठबन्धनबाट ल्याउने तयारी भइरहेको छ ।

अब सत्ता गठबन्धनले संवैधानिक निकायमा बहुमत बनाउने गरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाविरुद्ध महाभियोगको पूर्वतयारी गरेको बुझिएको छ । विशेषगरी माधव नेपालको तारोमा तिमिल्सिना पर्नसक्छन् । राष्ट्रियसभाको अध्यक्ष र उपसभामुखमा नेकपा एस र जसपाको दाबी छ । यसरी सत्ता गठबन्धनबाट संवैधानिक परिषदमा आफ्नो बहुमत बनाउने गरी तयारीहरु भइरहेका छन् । माधव नेपालले यसरी ओलीलाई फेरि अर्को धक्का दिन खोजेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot