Logo

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ : चित्रबहादुर केसी



काठमाडौँ, १३ माघ। राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । आज (बिहीबार) विज्ञप्ति जारी गर्दै उनले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन् । बुधबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका एक जना उम्मेदवार भएका छन् । लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् ।

आफ्नो पार्टीका उम्मेदवार विजयी भएपछि धन्यवाद दिन अध्यक्ष केसीले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको विषम राजनीतिक परिस्थितिमा प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छौँ ।’ राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट नेकपा एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको अध्यक्ष केसीले उल्लेख गरेका छन् ।

२०६२/६३ सालका उपलब्धिहरूलाई समाप्त गर्ने प्रयास भइरहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका हरेक क्रियाकलापलाई गणतन्त्र विरोधी शक्तिहरुले समर्थन गरिरहेको जनाएका छन् ।

अध्यक्ष केसीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनका लागि यी दुईटै धारा एक आपसमा मिल्ने खतरा बढिरहेको देखिन्छ । अर्कोतर्फ चुनावमा बहुमत ल्याएर संविधान संशोधन गरेर गणतन्त्रको नाममा देशमा फाँसीवाद कायम गर्न षड्यन्त्र भइरहेको छ ।’-File Photo



प्रतिक्रिया दिनुहोस्