Logo

बहालवाला मन्त्री रेणु यादवलाई तत्काल गिरफ्तार गर्न काँग्रेस नेता कर्णको जाहेरी परेपछि…



काठमाडौं, १३ माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल गिरफ्तार गर्न उजूरी परेको छ । उनीविरुद्ध उजूरी सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका एकजना नेताले दिएका हुन् ।

यादवलाई तत्काल मन्त्री पदबाट बर्खात गरी कानूनी कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत् ज्ञापनपत्र बुझाइएको छ । उनलाई तत्काल गिरफ्तार गर्न हुलाकमार्फत् जिल्ला प्रहरी कार्यालय रौतहटमा दरखास्त समेत पठाइएको छ ।

रेणु यादवविरुद्ध किटानी जाहेरी हाल्ने नेपाली काँग्रेसका नेता रञ्जीत कर्ण हुन् । कर्ण नेविसंघका पूर्वसभापति हुन् । काँग्रेसको १४औं महाधिवेशनमा उनी सहमहामन्त्रीका उम्मेदवार थिए ।

कर्णले ५ माघ मा रौतहटको गौरमा बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रेणु यादवले २७ जनाको विभत्स हत्या उल्लेख गर्दै पुनः त्यस्तो घटना घटाउने धम्की दिएको भन्दै लेखेका छन्,‘राजनीतिमा अपराधको ठाउँ नहुनेमा विश्वास गर्ने भएकाले यो ज्ञापनपत्र बुझाउने जिम्मेवारी बोधले यो कार्य गरेको व्यवहोरा अनुरोध छ ।’

कर्ण काँग्रेसभित्र डा. शेखर कोइराला निकट हुन् । उनले रेणु यादवलाई तत्काल मन्त्री पदबाट हटाएर गिरफ्तार गर्न ज्ञापनपत्र र जाहेरी बुझाउनुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्