Logo

रेणु यादव मन्त्रीबाट हट्ने



काठमाडौं, १३ माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । उनलाई राजीनामा दिन दबाब बढेको छ ।

गौर हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएपछि रेणुको चर्को आलोचना भइरहेको छ । उनको अभिव्यक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो लिएको बुझिएको छ । रेणुले राजीनामा नदिए बर्खास्त गर्ने सम्मबारे बालुवाटारमा छलफल भएको विश्वस्त स्रोतले जनाएको छ ।

रेणुको पद जोगाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लागेका छन् । तर, यादवको भूमिकाप्रति डा. बाबुराम भट्टराई पक्षधर नेताहरु मात्र नभई महेन्द्र राय यादवलगायतका नेताहरु पनि असन्तुष्ट रहेको बुझिएको छ ।

मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासम्म ज्ञापनपत्र पुग्ने गरी सप्तरी जिल्ला प्रशासन कार्यालयमा काँग्रेस नेता रञ्जीत कर्णले आजै बुझाएका छन् । उनले रौतहट प्रहरीमा समेत उजूरी दिइसकेका छन् । किटानी जाहेरीमा रेणु यादवले ५ माघमा गौर हत्याकाण्ड दोहोराउने भन्दै जिम्मेवार पदमा बसी हिंसात्मक अभिव्यक्ति दिएको उल्लेख छ ।

नेविसंघका पूर्व अध्यक्ष समेत रहेका कर्णले किटानी जाहेरी दिनुले मन्त्री यादव दबाबमा परेको बुझिएको छ । कर्णको किटानी जाहेरीले यादवको कुर्सी डगमगाइसकेको छ ।

५ माघ मा रौतहटको गौरमा बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रेणु यादवले २७ जनाको विभत्स हत्या उल्लेख गर्दै पुनः त्यस्तो घटना घटाउने धम्की दिएकी थिइन् । यसको विभिन्न दलका नेता र नागरिक समाजले विरोध गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्