Logo

लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो



हुम्ला, १४ माघ । हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ । एक स्थानीय गोरे सुनारका अनुसार चिसोले गर्दा यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ ।

यहाँको उत्तरी भेग नाम्खा गाउँपालिकामा आवतजावत समेत बन्द भएको छ । लिमीको जाङ्ग, हल्जी, तिल गरी तीन गाउँमा एकबाट अर्कोमा जान नसकिएको स्थानीयले बताएका छन् । ती गाउँहरु सञ्चार सेवाबाट पनि बञ्चित भएका छन् भने हिउँ थुप्रिएपछि बाटो पुरिएको र आवतजावत नै बन्द भएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले हुम्ला जिल्लामा अत्यधिक मात्रामा हिमपात भएकाले खोप लगाउन सिमकोट गाउँपालिकाका वडाहरुमा नै स्वास्थ्यकर्मी खटाइएको बताए ।

नेपाल विद्युत् प्राधिकरण हिल्दुङ्ग वितरण केन्द्रले हिमपातका कारण विद्युत्भार कटौती गर्न बाध्य भएको बताएको छ ।

सिमकोट गाउँपालिका–८ याङ्गुका हस्तेवीर शाहीका अनुसार ६० घरधुरीमध्ये १५ घरधुरीमा बत्ती बालेको र ४५ घरधुरी विद्युत् सेवाबाट बञ्चित हुन पुगेकाले पटकपटक विद्युत् कार्यालय धाउनुपरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्