Logo

विश्वकप फुटबलमा एशियाबाट क-कस्को सम्भावना



काठमाडौं, १४ माघ । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलमा एशियाबाट छनोट हुने पहिलो देश इरान भएको छ । उसले समूह एमा १९ अंक बनाएर ३ खेल बाँकी छँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

इरानले ७ खेल खेल्दा ६ जित र १ बराबरी निकालेको छ । समूह ए मा तेस्रो स्थानमा रहेको युनाइडेट अरब इमिरेट्सको ९ अंक छ । उसले तीनवटै खेल जितेपनि इरानलाई उछिन्न सक्दैन ।

समूह एमा दक्षिण कोरिया पनि छनोटको नजिक पुगेको छ । बाँकी रहेको तीन खेलमध्ये एक जितले कोरियाको कतार यात्रा सुनिश्चित हुन्छ । युएईले एक खेल हारेमात्र पनि कोरिया स्वतः छनोट हुन्छ ।

समूह बीमा तीन देशबीच सिधै छनोटका लागि तिव्र प्रतिष्पर्धा छ । साउदी अरेबिया १९ अंकका साथ अगाडि छ । जापान १५ र अष्ट्रेलिया १४ अंकमा छन् । यी तीन देशमध्ये दुई सिधै छनोट हुने निश्चित जस्तै छ । तेस्रो हुने टोलीले समूह ए मा तेस्रो हुने टोलीसँग प्ले अफ खेल्नेछ ।
समूह बी को साउदी अरेबियाले बाँकी तीन खेल जापानको घरेलु मैदानमा खेल्नेछ । अष्ट्रेलियासँग घरेलु मैदानमा खेल्दा चीनसँग उसैको मैदानमा प्रतिष्पर्धा गर्नेछ ।

जापानले बाँकी ३ खेल अष्ट्रेलियासँग अवे, साउदीसँग घरेलु मैदानमा र भियतनामसँग घरेलु मैदानमा खेल्नेछ ।

अष्ट्रेलियाले जापानसँग घरेलु मैदानमा, ओमान र साउदी अरेबियासँग अवे खेल खेल्नेछ ।

यसकारण तीनवटै देशले गर्ने तीनवटै प्रतिष्पर्धा निर्णायक हुनसक्छ ।

साउदीले अहिलेसम्म कुनै खेल हारेको छैन । उसले ७ खेलमा ६ जित र १ बराबरी खेलेको छ । जापानले ७ खेलमा ५ बराबरी र २ हार व्यहोरेको छ । अष्ट्रेलियाले ७ खेलमा ४ जीत, २ बराबरी र १ हार व्यहोरेको छ ।

जापानले सुरुमा कमजोर प्रदर्शन गरेको थियो । उसले पछिल्लो ४ खेल लगातार जित्नसक्यो ।

एशिया प्यासिफिकको छनोटमा समूह ए र समूह बी बाट तेस्रो हुने टोलीले प्ले अफ खेल्नेछन् । दुई वटा होम र अवे प्रतिष्पर्धाबाट सरदर गोलका आधारमा विजेता निक्र्यौल हुनेछ । विजेताले अन्तर महादेशीय प्ले अफमा दक्षिण अमेरिकाको विश्वकप छनोटमा पाचौं हुने टोलीसँग होम र अवे गरी दुई म्याचको प्ले अफ खेल्नेछन् । सरदर गोलका आधारमा कतारको यात्रा गर्ने टोली तय हुनेछ ।

एशियाबाट प्ले अफमा पुग्नेमा समूह ए बाट युएइको सम्भावना बढी छ । समूह बी बाट साउदी अरेबिया, जापान र अष्ट्रेलियामध्ये २ को सिधै छनोट हुने निश्चित भएबाट तेस्रो हुने टोली यीनै मध्येबाट देखिन्छ ।

दक्षिण अमेरिकाको प्ले अफ छनोटमा कोलम्बिया, उरुग्वे, चिली र पेरुमध्येबाट एक देखिन्छन् । ब्राजिल र अजेन्टिना सिधै छनोट भइसकेका छन् । इक्वेडर पनि सिधै छनोटको नजिक छ । बाँकी एक टोलीमा कोलम्बिया, उरुग्वे, चिली र पेरुको सम्भावना छ । पाचौं टोली पनि यीमध्येबाट हुनेछन् जसले एशियाबाट प्ले अफमा छनोट हुने टोलीसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

विश्वकपमा कुल ३२ राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । फिफाको नियम अनुसार अफ्रिकाबाट ५, एशियाबाट ४ सिधै र १ ले प्ले अफ, यूरोपबाट १३, उत्तर अमेरिका र क्यारेबियनबाट ३ र १ प्ले अफ, ओसेनियाबाट १ प्ले अफ र दक्षिण अमेरिकाबाट ४ सिधै र एक प्ले अफ गरी कुल ३२ राष्ट्र छनोट हुने नियम छ ।

अन्तर महादेशीय प्ले अफमा एशियाबाट पाचौं हुनेले दक्षिण अमेरिकाको पाचौं हुने टोलीसँग प्ले अफ खेल्नेछन् । दुई चरणको प्ले अफमा गोलका आधारमा छनोट हुनेछ । उत्तर अमेरिकी महादेशको चौंथो हुने देशले ओसेनियाबाट छनोट भएर आएको टोलीसँग दुई चरणको प्ले अफ खेल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्