Logo

देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म खोप लगाइने



काठमाडौँ, १५ माघ। देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि विद्यालय खुलेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।

काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ । त्यसका लागि महानगरका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ ।१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ ।

यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ । खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot