Logo

आतङ्क सिर्जना नगर्न पश्चिमा देशलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आग्रह



एजेन्सी, १५ माघ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आतङ्क सिर्जना नगर्न पश्चिमा देशलाई आग्रह गरेका छन् ।पछिल्ला घटनाक्रम र बढ्दो तनावले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको राष्ट्रपति जेलेन्स्कीले बताएको बीबीसीले जनाएको छ ।

यसैबीच अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनलाई लिएर रुससँगको द्वन्द्व अहिलेसम्म टार्नै नसक्ने अवस्थामा पुगिनसकेको बताएका छन् ।युक्रेनी सीमामा दशौँ हजार रूसी सेनाको उपस्थितिलाई अमेरिकाले धेरै गम्भीरताका साथ लिइरहेको तर अझै पनि कुटनीतिक पहलबाट समाधान गर्न सकिने उनको भनाइ छ । ‘कुटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । अमेरिकाले हाम्रा सहयोगी र साझेदारसँग रुसलाई सङ्कटबाट टाढा र थप सुरक्षातर्फको बाटो प्रस्ताव गरेको छ’ उनले भनेका छन् ।

कुनै पनि रुसी आक्रमणले युक्रेनमा थप द्वन्द्व मात्र निम्त्याउने छैन, यसले राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र आत्मनिर्णयको आधारभूत सिद्धान्त पनि उल्लङ्घन गर्ने अस्टिनले बताएको जनाइएको छ । युक्रेनको विषयलाई लिएर तनाव बढ्दै जाँदा रुसले पनि द्वन्द्व नचाहेको बताउँदै आएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्