Logo

सङ्घीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ



काठमाडौँ, १५ माघ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न सङ्घीय कानुन ल्याउन लागेको जानकारी दिएका छन् ।

काठमाडौँको स्वस्तिश्री गुरुकुल स्कुलमा आज भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सङ्घीय कानुन आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्नसक्ने वातावरण तयार हुने जानकारी दिए । उनले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । उनले प्राविधि र उच्च शिक्षा तथा विद्यालय तहको शिक्षाका विषयमा छुट्टाछुट्टै कानुन बन्ने जानकारी दिए ।

मन्त्री श्रेष्ठले परिवर्तित समय र आवश्यताअनुसारको शिक्षा जरुरी रहेको उल्लेख गर्दै नेपाल शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गरे । “अहिले पनि ६०-७० हजार विद्यार्थी पढ्न विदेश जाने गरेका छन्, अर्बाैं पैसा विदेश जान्छ,” उनले भने , “त्यसलाई रोक्न नेपालमा गुणस्तरीय शिक्षा आवश्यक छ, सङ्घीय कानुन बनेपछि केही प्रभावकारी हुन्छ ।”

राम्रो काम गर्दा टीकाटिप्पणी आउने उल्लेख गर्दै उहाँले धैर्य गर्न पनि सुझाव दिए । आजै स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’ घोषणा गरिएको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्