Logo

चुनावमा सत्ता गठबन्धनका दलबीच तालमेल भए के होला ?



काठमाडौं, १५ माघ । अन्ततः देश आगामी वर्षको मंसिरभित्र चुनावमा जाने निश्चित भएको छ । विकल्पमा तीन तहको चुनाव जेठ या मंसिरमा गर्ने सम्भावना पनि हुनसक्छ । अन्यथा वैशाखमा स्थानीय चुनाव गरेर मंसिरमा प्रतिनिधि सभा र प्रदेशको चुनावको सम्भावना पनि छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको महामारी र अर्थतन्त्रको अवस्थालाई दृष्टिगत गरी तीन तहको चुनाव एकसाथ गर्न खोजेको उनीनिकट काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले बताइसकेका छन् । मध्यमार्गी बाटोमा यही प्रस्ताव लगेर देउवा अगाडि बढ्न खोजेका छन् । अन्यथा स्थानीय चुनाव भने समयमै गर्ने तयारीमा देउवा पुगिसकेका छन् ।

चुनावमा सत्ता गठनबन्धनका ५ दलबीच तालेमल हुने हो या होइन चासो बनेको छ । तालमलेको पक्षमा गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसी देखिइसकेका छन् । देउवा पनि यसमा सकारात्मक छन् । तर, उनलाई पार्टीभित्र दबाब छ । काँग्रेसको इतर समूह तालमेलको विपक्षमा देखिन्छ ।

गठबन्धनबीच स्थानीय चुनाव, प्रदेश र प्रतिनिधि सभामा तालमेल भए सबैभन्दा ठूलो धक्का नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हुनसक्छ । गठबन्धन एक हुँदा राष्ट्रिय सभाका चुनावहरुमा एमाले, लोसपा र राप्रपालाई ठूलो धक्का परिसकेको छ ।

२०७४ को स्थानीय चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाको मतलाई केलाउँदा पनि पाँच दलीय गठबन्धन एक भएर चुनाव लडेमा देशभर एमाले, राप्रपा र लोसपालाई जित्न कठिन पर्नसक्छ । तर, गठबन्धनभित्र घात अन्तर्घातको सम्भावना पनि छ । जुन प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा देखिइसकेको छ ।

पाँच दलीय गठबन्धन एक भएमा एमालेले पनि लोसपा, राप्रपालगायत सीके राउत समूहसँग चुनावी तालमेल गर्न सक्छ । यस्तो अवस्था विकास भएमा चुनावी परिणाम गठबन्धनले सोचेको भन्दा फरक आउन सक्छ ।

काँग्रेस नेतृत्वको गठबन्धन या एमाले नेतृत्वको गठबन्धन बन्ने सम्भावना छँदैछ । यसबाहेक माओवादी नेतृत्वको अलग गठबन्धन बनेर नेकपा एसलगायत कम्युनिस्ट शक्ति मिलेर चुनाव लड्ने सम्भावना पनि छ । यस्तो अवस्थामा त्रिपक्षीय चुनावी प्रतिष्पर्धा हुनसक्छ । मतपरिणाम पनि त्रिपक्षीय नै आउने सम्भावना रहन्छ ।



प्रतिक्रिया दिनुहोस्