Logo

देउवा किन चुनावका लागि बढे ?



काठमाडौं, १५ माघ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावका लागि अगाडि बढेका छन् । उनले जेठभित्र स्थानीय निकायको निर्वाचन गर्ने सहमति सत्ता गठबन्धनभित्र बनाइसकेका छन् ।

जेठमा स्थानीय चुनाव गर्ने देउवाको तयारीसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि जतिसक्दो छिटो गर्ने प्रयास रहेको बुझिएको छ । उनी सकभर तीन तहको चुनाव एकसाथ गर्न चाहन्छन् । नभए जेठभित्र स्थानीय तहको चुनाव गरिसक्ने निर्णयमा पुगेका छन् ।

सत्ता गठबन्धनका नेताहरुमध्ये प्रचण्डले वैशाखमा प्रतिनिधि सभाको निर्वाचनको प्रस्ताव गरेका थिए । माधवकुमार नेपालले अर्को वर्षको फागुनमा तीन तहको चुनावको प्रस्ताव गरेका थिए । प्रचण्ड पनि तीन तहको चुनाव एकसाथ गर्ने पक्षमा उभिएका थिए ।

देउवाले संविधान अनुसार ५ जेठभित्रै स्थानीय निकाय जनप्रतिनिधिविहिन नबनाउने गरी चुनाव घोषणाको तयारी गरिसकेका छन् । तर, उनले प्रतिनिधि सभाको चुनाव पनि सकेसम्म चाँडै गर्ने प्रयास जारी राखेको बुझिएको छ । अन्यथा चुनाव मंसिरमा भने गर्ने नै निश्चित भइसकेको बुझिएको छ ।

देउवा चुनावका लागि बढ्नुमा काँग्रेसको बलियो स्थिति पनि कारण हो । काँग्रेस नेतृत्वको सरकार हुनु, कम्युनिस्ट पार्टी विभाजित हुनु, सत्ता गठबन्धन मिलेमा झन् बढी स्थानमा जित हासिल गर्न सकिने आँकलनका साथ देउवा बढेको बुझिएको छ ।

चुनाव जति ढिलो हुन्छ उति काँग्रेसलाई घाटा पर्न सक्ने सुझावहरु देउवा कहाँ पुगेको बुझिएको छ । अर्कोतर्फ, चुनाव तोकिएको मितिभन्दा पर नसार्न काँग्रेसभित्रैबाट देउवामाथि दबाब परेको थियो । उनी निकटस्थले पनि चुनाव ढिलो नगर्न सुझाव दिएका थिए ।

चुनाव नहुँदा विभिन्न पक्षले खेल्नसक्ने तर्फ समेत सचेत गराए । देउवा विगतमा चुनाव गर्न नसकेर पदबाट हटाइएको इतिहास पनि छ । यसकारण पनि उनी झस्किए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लिखित पत्र नै लेखेर देउवालाई चुनावका लागि दबाब दिइन् । निर्वाचन आयोगले पनि स्थानीय निकायको निर्वाचन ५ जेठ अगावै हुनुपर्ने र प्रतिनिधि सभा र प्रदेशहरुको चुनाव मंसिरभित्र भइसक्नुपर्ने जानकारी गरायो । यसले पनि देउवा दबाबमा परे । उनी चुनावको मिति घोषणा गर्नेतर्फ अगाडि बढे ।-File Photo



प्रतिक्रिया दिनुहोस्