Logo

एक महिनाभित्र एमसीसी पास नभए सत्ता गठबन्धन भत्कनसक्ने



काठमाडौं, १६ माघ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न दबाब बढेको छ । उनले सत्ता गठबन्धनका नेताहरुसँग एमसीसी पारित गर्ने विषय फेरि उठाएको बुझिएको छ ।

एमसीसी पारित गर्न अमेरिकाले समयसीमा समेत तोकेर देउवालाई सन्देश पठाएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार अबको एक महिनाभित्र एमसीसी पारित नगरे अर्को कुनै देशमा सहयोग रकम लाने अमेरिकाले सन्देश दिइसकेको छ । यसले देउवा दबाबमा परेका छन् ।

गठबन्धनका नेताहरु प्रचण्ड र माधवकुमार नेपालले वैशाखमा स्थानीय चुनावका लागि सहमति जनाएर एमसीसीलाई पछि धकेल्ने रणनीति बनाएपनि देउवाले भने चाँडै एमसीसीबारे टुंगोमा पुग्नुपर्ने प्रस्ताव राखेको बुझिएको छ ।

एमसीसी पारित गर्न प्रचण्ड र माधव नेपाललाई तयार बनाउन देउवाले प्रयास गरिरहेका छन् । यसका लागि अध्ययन कमिटी समेत बनाइएको छ । कमिटीको सुझाव चाँडै लिएर देउवा अगाडि बढ्न खोजेका छन् ।

एमसीसी पारित गर्न गठबन्धनका नेताहरु प्रचण्ड र माधवकुमार नेपाल तयार नभए नयाँ घटनाक्रम विकास हुनसक्ने सम्भावना छ । एमसीसी पारितका लागि देउवाले विकल्पमा केपी शर्मा ओलीसँग सहमति निर्माण गर्ने सम्भावना पनि छ । ओलीले पनि देउवालाई गठबन्धन भत्काएमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरिसकेको बुझिएको छ । यसकारण पनि गठबन्धन फेरि धरापमा पर्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot