Logo

प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश जबराबीच भेटवार्ता, अब एक्शनमा उत्रिन प्रधानमन्त्रीको आग्रह



काठमाडौं, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो भूमिका अलिक सक्रिय बनाउन आग्रह गरेका छन् । पछिल्लो समय नेपाल बार एशोसिएशनले जबराको राजीनामा मागेर आन्दोलन गरेपछि न्यायालय कठिन अवस्थाबाट गुज्रिरहेको छ । न्यायको खोजीमा जनताले निकै सास्ती भोग्नुपरेको छ ।

बार र बेञ्चबीच दूरी बढ्दा यसको प्रत्यक्ष सेवाग्राही अर्थात् जनतालाई परिरहेको छ । बारको आन्दोलन अहिल पनि जारी छ । यही बीचमा प्रधानन्यायाधीश जबरा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको बुझिएको छ । उक्त भेटमा प्रधानमन्त्री देउवाले अदालतको गतिविधि अलिक बढाउनको लागि आग्रह गरेको बुझिएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले नियमित इजलास गठन गरेर मुद्दाहरुको सुनुवाई गर्नको लागि पनि आग्रह गरेका छन् । सर्वोच्च अदालतमा पछिल्लो समय गोलाप्रथामा इजलास गठन हुँदै आएको छ । गोलाप्रथा भने त्यति प्रभावकारी नभएको न्यायाधीशहरुको नै गुनासो छ ।

यो प्रणाली झन्झटिलो भएको उनीहरुको गुनासो रहेको बुझिएको छ । प्रधानन्यायाधीश जबराले नेपाल बार र सर्वोच्च बारले अघि सारेका जायज माग सम्बोधन गर्न आफू सधैं सकारात्मक रहेको बताउँदै आएका थिए । तर, सडकबाट कसैले आन्दोलन गर्दैमा आफूले राजीनामा नदिने उनको अडान थियो । नभन्दै राणा आफ्नो अडानमा चट्टानी रुपमा अडिग रहे ।

प्रधानन्यायाधीश जबराले आफू संविधानसम्म्त रुपमा पदीय जिम्मेवारीमा आएकोले हटाउने भए संविधानअनुसारको प्रक्रिया बढाउन चूनौति दिएका थिए । पछिल्लो समय बारको आन्दोलनका कारण न्यायालय कठिन मोडमा पुगेपछि आम जनस्तरबाट पनि अब अदालत पहिलेझैं सुचारु हुनुपर्ने आवाज उठेको छ ।

यही सन्दर्भमा प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश जबराबीच भेटवार्ता भएको बुझिएको छ । र, जबरालाई अदालती प्रक्रियाहरु अघि बढाउन र जनतालाई छिटो न्याय दिलाउनेगरि कार्यसम्पादन गर्न पनि देउवाले आग्रह गरेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्