Logo

उत्तर कोरिया क्षेप्यास्त्र प्रक्षेपणः आकाशमा उडिरहेको मिसाइलबाट खिचिएका तस्बिर सार्वजनिक



एजेन्सी, १७ माघ। उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले सन् २०१७ यताकै सबैभन्दा ठूलो ठानिएको क्षेप्यास्त्र प्रक्षेपण गर्दा खिचिएका तस्बिरहरू सार्वजनिक गरेको छ। माथि आकाशबाट खिचिएका ती तस्बिरमा कोरियाली प्रायःद्वीप र वरपरका क्षेत्रहरू देखिएका छन्।

उत्तर कोरियाले उक्त बलिस्टिक क्षेप्यास्त्र मध्यम दूरीको ह्वासङ-१२ रहेको बताएको छ। जापान सागरमा अवतरण गर्नुअघि त्यो क्षेप्यास्त्र आकाशमा २,००० किलोमिटर माथिसम्म पुगेको दक्षिण कोरिया र जापानले बताएका छन्। यी दुवै देशले प्रक्षेपणको निन्दा गरेका छन्। नयाँवर्ष आरम्भ भएपछि प्योङ्याङले योसहित सातवटा क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जारी गरेका तस्बिरहरू परीक्षण गरिएको क्षेप्यास्त्रको ‘युद्धशीर्ष’ मा जडित क्यामराबाट खिचिएको बताइएको छ।सार्वजनिक भएकामध्ये दुई तस्बिरले प्रक्षेपण गर्दाको क्षण देखाउँछन् र माथिबाट खिचिएको अर्को तस्बिरले उडानको बीचतिर रहेको क्षेप्यास्त्र देखाउँछ। जापानी र दक्षिण कोरियाली अधिकारीहरूले उक्त क्षेप्यास्त्रले ३० मिनेट उडेर ८०० किलोमिटर पर पुगेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षणमा रोक लगाएको छ। तर उत्तर कोरियाले राष्ट्रसङ्घको प्रतिबन्धलाई नियमित रूपमा अस्वीकार गर्दै आएको छ र नेता किम जङ-अनले आफ्नो देशको प्रतिरक्षा सुदृढ बनाउने वाचा गरेका छन्। संयुक्त राज्य अमेरिकाका एक वरिष्ठ अधिकारीले उत्तर कोरियालाई कुनै पूर्वसर्तबिना आफ्नो पारमाणविक र क्षेप्यास्त्र परीक्षणका बारेमा वार्तामा सहभागी हुन आग्रह गरेको रोएटर्सले जनाएको छ। “हामीलाई लाग्छ केही गम्भीर छलफलहरू सुरु गर्नु पूर्ण रूपमा सही र उपयुक्त छ,” अमेरिकी अधिकारीले भने। यसअघि अमेरिकाले उत्तर कोरियालाई “थप उत्तेजनापूर्ण कार्यहरू नगर्न” आग्रह गरेको थियो।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण सामान्यतया भोलिपल्ट त्यहाँको सरकारी सञ्चारमाध्यमद्वारा घोषणा गरिन्छ। सोमवार केसीएनएले उक्त क्षेप्यास्त्र “त्यसको सही काम गर्छ या गर्दैन प्रमाणित गर्न” प्रक्षेपण गरिएको बताएको थियो। प्रक्षेपणका क्रममा नेता किम अनुपस्थित रहेको बताइएको छ। यो “छिमेकी राष्ट्रहरूको सुरक्षालाई दृष्टिगत गर्दै उत्तरपश्चिमी क्षेत्रबाट कोरियाको पूर्वी सागरसम्म उच्चतम कोण फायरिङ प्रणालीमा प्रक्षेपण गरिएको थियो,” एजेन्सीले थप जनाएको छ।

किमको अनुपस्थिति र प्रक्षेपणलाई व्याख्या गर्न सञ्चारमाध्यमले प्रयोग गरेको भाषाका आधारमा उत्तर कोरियासम्बन्धी विश्लेषक अङ्कित पान्डाले नयाँ प्रविधि देखाउनभन्दा बढी क्षेप्यास्त्र प्रणालीको काम पुष्टि गर्नको लागि यो परीक्षण गरिएको बताए। परीक्षण गरिएको क्षेप्यास्त्र मध्यम दूरीको ह्वासङ्-१२ रहेको केसीएनएले जनाएको छ। सन् २०१७ यता पहिलो पटक यति ठूलो पारमाणविक क्षमताको क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो।

सन् २०१७ मा जापानी टापु होक्काइडोमा क्षेप्यास्त्रको दुई प्रक्षेपणसहित छ पटक परीक्षण गरिएको थियो। उत्तर कोरियाले यसअघि ह्वासङ्-१२ ले ‘ठूलो आकारको गह्रौँ पारमाणविक विस्फोटक अस्त्र’ बोक्न सक्ने बताएको थियो।

महिनाको सातौँ परीक्षण

आइतवार उत्तर कोरियाले यस वर्षको सातौँ क्षेप्यास्त्र परीक्षण गर्‍यो। यसबाट ज्यानुअरी उक्त देशको क्षेप्यास्त्र कार्यक्रमका लागि सबैभन्दा व्यस्त महिनामध्ये एक बन्यो।

विज्ञहरूले धेरै क्षेप्यास्त्र प्रक्षेपण हुनुको पछाडि धेरै कारणहरू देखाएका छन्। उनीहरूले विश्वव्यापी र क्षेत्रीय राजनीतिक शक्तिको सङ्केत, अमेरिकालाई लामो समयदेखि ठप्प पारमाणविक वार्तामा फर्काउन दबाव दिने नेता किम जङ-अनको इच्छा, नयाँ प्रविधिको परीक्षण गर्ने व्यावहारिक आवश्यकता र सैन्य आदेश प्रणालीलगायतलाई कारण मानेका छन्। चीनमा हिउँदे ओलम्पिक सुरु हुनुअघि र मार्चमा दक्षिण कोरियाको राष्ट्रपतिको चुनाव हुनुभन्दा ठिक अघि परीक्षण गरिएको समयलाई पनि महत्त्वका साथ हेरिएको छ।

कमजोर उत्तर कोरियाली अर्थतन्त्रले अमेरिकी नेतृत्वमा विभिन्न प्रतिबन्धहरू सामना गरिरहेको, महामारी सम्बन्धित अप्ठेराहरू भोगिरहेको र दशकौँ लामो अव्यवस्थासँग सङ्घर्ष गरिरहँदा क्षेप्यास्त्र परीक्षणहरू भइरहेका छन्।अन्तर्राष्ट्रिय सम्बन्धका अध्यापक डा. ड्यान्यल पिङ्कस्टनले बीबीसीलाई बताएअनुसार उत्तर कोरियाले चीन, अमेरिका र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्जस्ता ठूला शक्तिहरू मात्र नभई क्षेत्रीय शत्रुहरूलाई पनि सङ्केत गरिरहेको हुन सक्छ। “एक महिनापछि दक्षिण कोरियाको राष्ट्रपतिको चुनाव हुन लागेको छ, त्यसैले यो घटना दक्षिण कोरिया र आगामी राष्ट्रपतिलाई तर्साउने प्रयास गर्ने उनीहरूको पुरानो व्यवहारसँग मेल खान्छ,” दक्षिण कोरियामा कार्यरत ट्रोय विश्वविद्यालयका डा. पिङ्कस्टनले भने।

अन्य विश्लेषकहरूका अनुसार यस महिनाको सुरुमा परीक्षण गरिएका क्षेप्यास्त्रहरूले उत्तर कोरियाले यस क्षेत्रमा अमेरिका र जापानले तैनाथ गरिरहेको महङ्गा र जटिल क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छक्याउन सक्ने प्रविधिको विकास गरिरहेको देखाएको छ। दक्षिण कोरियाका भूतपूर्व सैन्य कमान्डर तथा प्राध्यापक किम डङ युपले भने, “उनीहरू बिच्छीको पुच्छरजस्तै प्रतिरक्षा प्रणाली विकास गर्न चाहन्छन्।” “उत्तर कोरियाको प्रमुख उद्देश्य आक्रमण गर्नु होइन तर आफ्नो रक्षा गर्नु हो,” प्राध्यापक किम भन्छन्, “त्यस देशले विविध प्रतिरोधात्मक क्षमता सुरक्षित गर्ने प्रयास गरिरहेको छ।”

सन् २०१८ मा नेता किमले पारमाणविक हतियार वा यसको सबैभन्दा लामो दूरीको अन्तरमहाद्वीपीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) को परीक्षण स्थगन घोषणा गरेका थिए। तर उत्तर कोरियाली नेताले सन् २०१९ मा प्रक्षेपणमा लागेको प्रतिबन्ध बाध्यकारी नभएको बताएका थिए। यसअघि ज्यानुअरीमा क्षेप्यास्त्र प्रहार गरेकाले अमेरिकाले उत्तर कोरियालाई थप प्रतिबन्ध लगाएको थियो। जो बाइडन राष्ट्रपति बनेपछि दुई देशबीच वार्ता हुन सकेको छैन।-बीबीसी



प्रतिक्रिया दिनुहोस्