Logo

नाडाललाई ग्रान्डस्लाम उपाधि नम्बर २१



एजेन्सी । स्पेनका राफायल नाडालले अस्ट्रेलियन ओपन आइतबार जितेका छन् । मेलबर्नमा आईतबार मध्यरातिमा सकिएको खेलमा नाडालले पहिलो दुई सेटले पछि परेको अवस्थालाई उल्ट्याएर उपाधि हात पारेका हुन् ।

यो उनको करियरको २१औं ग्रान्डस्लाम उपाधि हो भने अस्ट्रेलियन ओपनमा दोस्रो उपाधि हो । उनले रुसका डेनिएल मेदभेदेभलाई पाँच सेटमा हराए । यो उपाधिसँगै नाडाल मेन्स सिंगल्सतर्फ सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडी पनि बने ।

यसअघि सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररसँग २०र२० ग्रान्डस्लाम उपाधिको बराबरी कीर्तिमानमा उनी साझेदारी थिए । यो उपाधिले उनलाई जोकोभिच र फेडेररलाई पछि पार्न मद्दत पुर्याएको छ ।

मेदभेदेभ पहिलो दुई सेट जितेपछि नाडालको २१औं कीर्तिमानी ग्रान्डस्लाम उपाधि जित्ने योजना विफल पार्न अग्रसर थिए । तर, नाडालले सानदार खेल देखाएर मेदभेदेभविरुद्ध तेस्रो सेट जिते ।

चौथो सेटमा पनि नाडालले जितेपछि खेल निर्णायक सेटमा पुग्यो । उक्त सेटमा पनि नाडाल नै हावी बनेपछि थकित मेदभेदेभले खेलमा फर्कने कुनै पनि मौका पाएनन् ।



प्रतिक्रिया दिनुहोस्