Logo

स्थानीय तहको निर्वाचन मिति सार्वजनिक गर्न एमालेद्वारा देशैभर प्रदर्शन



काठमाडौं, माघ १९। नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रेको छ ।

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नमा ढिलाइ गरिरहेको आरोप लगाउँदै युवा संघ र अनेरास्ववियुले देशैभर प्रदर्शन गरिरहेको छ । युवा संघका स्थायी कमिटी सदस्य निवेश यादवका अनुसार सरकारले स्थानीय तहको निर्वाचन पर धकेल्ने षड्यन्त्र गरिरहेको दबाब दिने उद्देश्यले विरोधका कार्यक्रम भइरहेको बताए ।

‘विभिन्न बहाना गर्दै सरकारले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गरिरहेको छ । निर्वाचन आयोगले निर्वाचन गर्न सुझाव दिँदा समेत अहिलेसम्म सरकारले निर्वाचनको मिति घोषणा गर्न सकेको छैन’ यादवले भने, ‘यथाशीघ्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने माग हाम्रो हो । सरकारले यसमा ढिलाइ गर्न मिल्दैन ।’

अनेरास्ववियुले मंगलबार पुल्चोकस्थित मन्त्री निवासअगाडि प्रदर्शन गर्दै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार मन्त्री निवासअगाडि प्रदर्शन गरिएको अखिलले जनाएको छ ।

बिहानै पुल्चोकमा भेला भएर अनेरास्ववियुका कार्यकर्ताले स्थानीय तहको चुनाव समयमै गर्नुपर्ने माग गर्दै सरकराविरुद्ध चर्को नाराबाजी गरेका छन् । विरोध प्रर्दशनमा उत्रेका सहभागीले निर्वाचनको मिति घोषणा गर, चुनाव सार्न पाइँदैन जस्ता नारा लगाएका थिए ।

प्रदर्शनकारीले निवासबाट बाहिरिँदै गरेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झन्डासमेत देखाएका थिए । यस्तै, अनेरास्ववियुका कार्यकर्ताले सभामुख अग्निप्रसाद सापकोटालाई समेत कालो झन्डा देखाएका छन् । मंगलबार सभामुख सापकोटा सिन्धुपाल्चोक जाने क्रममा बनेपामा कालो झन्डा देखाइएको हो ।

अनेरास्ववियुले स्थानीय तहको निर्वाचनको मिति तोक्न माग गर्दै सरकारविरुद्ध देशैभर प्रदर्शन गरिरहेको छ । सोही क्रममा सभामुखलाई पनि नाराबाजीसहित कालो झन्डा देखाएको हो ।

नेकपा एमाले विभाजनमा सभामुख सापकोटाको पनि भूमिका रहेको भन्दै एमाले आक्रोसित छ । उसले सभामुखको राजीनामा माग गर्दै गत भदौदेखि प्रतिनिधिसभाको बैठक समेत अवरोध गर्दै आएको छ ।

एमाले उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचनमा हार्ने डरले पाँच दलीय गठबन्धनको सरकारले निर्वाचन पर धकेल्ने षड्यन्त्रमा लागेको आरोप लगाए । सरकारले आलटार गरिरहेकै कारण बाध्य भएर आफूहरू आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्