Logo

सत्ता गठबन्धन भत्काउन खोज्दै एमाले



काठमाडौं, माघ १९ । सत्तासहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पाँचदलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन्। खासगरी माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेका हुन्।

एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायमै रहने दाबी गर्दै आएका छन्। एक सातायता सत्तासहयात्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्कन सक्ने शंकालाई बल पुगेको छ।

आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने र त्यसमा कांग्रेस प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिए पनि उनको पार्टीभित्र यस विषयलाई लिएर चर्को असन्तुष्टि छ।

साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयमा सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर पनि सत्तासहयात्रीबीच किचलो बढेको छ।

माओवादी केन्द्रका जनवर्गीय संगठनका नेताहरूले सभामुख सापकोटाको भूमिकाको प्रशंसा गरिरहेका छन् भने गठबन्धनको प्रमुख घटक कांग्रेस र प्रधानमन्त्री देउवा असन्तुष्ट बनेका छन्।

एमसिसीबारे गठबन्धन दलहरूभित्रै अन्तर्विरोध भएका बेला एमालेले सरकार कसरी अघि बढ्छ, त्यहीअनुसार आफ्नो नीति स्पष्ट पार्ने बताउँदै आएको छ। यद्यपि एमसिसी संसद्बाट पास गर्ने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरेर अघि बढेमा प्रधानमन्त्रीलाई साथ दिने संकेत एमालेले गरेको स्रोतको दाबी छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्